यतिबेला देशमा गाई/गोरु हत्याको विषय निक्कै चर्चा चलिरहेको छ । आजको विज्ञान र प्रविधिको युगमा विज्ञानले बनाएको सामाजिक संजालमा कलियुगमा जसरी जनावरले यस्तो गरेको थियो, उस्तो गरेको थियो भनेर बहस गरेर बस्नुको मुख्य कारण त हामी नेपालीहरु फुर्सदिलो भयौं, दोस्रो कुरा हाम्रो चेतनाको स्तर अझै कहाँ छ भन्ने कुराको ज्वलन्त उदाहरण हो ।
यो दुनियाँमा धर्म अनुसारको आफ्नो आस्था हुन्छन्, कुनैले गाई पुजा गर्छन्, कसैले कुकुर पुजा गर्छन्, कसैले बाख्रा पुजा गर्छन् त कसैले सुँगुर पनि पुज्लान । धर्म अनुसार कतिपय राई लिम्बूलेले बाख्राको मासु खाना नहुने, बाहुन क्षेत्रीले गाईलाई माता मान्ने, तामाङहरुको कुलमा सुंगुर नचल्ने आदि हुन्छन् ।
यसको मासु खाँदैन तिमीले पनि खाना पाउदैन, मैले जे मान्छ तिमीले नि त्योही मान्नुपर्छ भन्ने अतिबादी बुझाइ नेपाल जसरी विकास हुदै गएको छ । यसले निकट भविष्यमा ठुलो दुर्घटना निम्त्याउने खतरा पैदा भएको छ । आज हामीले नेपालमा कति गाई गोरु सडकमा अलपत्र छन्, तिनीहरूको अवस्था के छ केही तथ्य ल्याएका छौँ ।
नेपालमा विभिन्न जातका गाईगोरुहरु छन् । गौरी गाई, खेला गाई, श्रीगाई, लुलु, अछामि, गुजराती, होलिस्टन, जर्सी आदि स्थानीय तथा उन्नत जातका गाई पाइन्छ । कृषि सूचना तथा प्रशिक्षण केन्द्रका अनुसार नेपालमा २०७७-७८ मा मात्रै गाई गोरुको सङ्ख्या ७४ लाख ६६ हजार छ । यसमध्ये दूध दिने गाई जम्मा १२ लाख ९ हजार मात्रै रहेका छन, बाच्छी र दूध नदिने गाईको साङ्ख्या करिब २५ लाख छ भने करिब ३७ लाख गोरु छन् । पहाडमा खेतबारी जोत्ने, तराईमा ठेलागाडाका लागि प्रयोग गर्न गोरुको प्रयोग गरेको भए पनि स्थानीय सरकार स्थापनासंगै कृषि आधुनिकिकरणको नाममा ट्याक्टर वितरण गर्न थालेपछि नेपालमा मान्छे मात्रै हैन गोरु पनि बेरोजगार भएका छन् ।
लाखौं गोरु अनुत्पादक हुदा विशेषगरी किसानहरुले निक्कै कष्ट भोग्नुपरेको छ । धर्मको नाम लिएर यो वा त्यो भन्न त सजिलो छ तर बास्तबिक किसानलाई भने केही अतिबादीहरुले गर्दै आएको धर्म भित्रको राजनीतिले जिउँदै मारेको छ । गाईपालक किसानहरु महंगो लागत, उपचारको कमि, थोरै मुल्यमा आफ्नो उत्पादक बिक्री गर्नुपर्ने बाध्यता छ ।
नेपालमा गाई गोरुलाई मासुको लागि बिक्रीवितरणमा रोक लगाएको कारण गाईपालकहरुले गाईले उत्पादन दिन छाडेसि पन्छाउनको लागि छाडा छोड्ने गर्छन् । यदी गाईलाई मनैदेखि आमा सम्झेको हो भने आमालाई घरबाट निकाल्ने छोराहरूलाई पनि कानुनी कारबाही हुनुपर्ने हो । गाई आमा हो भने गाईको बाच्छा दाजुभाइ पर्लान, गोरुलाई बुबा भन्ने होला । गाई माताको दूध जति सबै डेरिमा लगाएर आफ्नो बाच्छा दाजुभाइलाई भोकै राख्ने अपराधी विरुद्ध कसले बोल्ने ? आफ्नो बुबालाई दिनभरि खेतमा कुट्दै जोत्ने अपराधीको विरुद्ध कसले प्रहरीमा जाहेरी दिने ?
धर्मात्म देखिन सजिलो छ तर एउटा किसानको पीडा कसले बुझेको छ ? एउटा दूध नदिने गाई पाल्दा दैनिक न्युनतम ९० देखि १०० रुपैयाँ खर्च हुनेरहेछ । वर्षमा ३२ हजार भन्दा बढी खर्च हुनेरहेछ । आज बेरोजगारीले देश खोक्रो भएको बेला एउटा गरिब किसानले अनुत्पादक कुरामा वार्षिक यति धेरै खर्च गर्नु भनेको जिउँदै मरेको बराबर हो ।
दूध दिन छोडेपछि एउटा गाई ३ वर्ष मात्रै बाँच्यो भने ९६ हजार खर्च गराउछ, । एउटै गाईबाट ९६ हजार घाटा लाग्छ भने ५ वटा दूध नदिने गाई भए ४ लाख ८० हजार घाटा लाग्छ । यसरी गाई पालक पुरै मारमा पर्ने गर्छ । गाई गोरु मासुजन्य कुरामा बिक्रीवितरण गर्न नपाएसि उनिहरुले दूध दिन छाडेसि छाडा छोड्ने गर्छ । यो कुरामा कि त गाईलाई छाडा छोड्नु भएन, यदि गाई माता हो भने कम्तीमा छोराछोरी हुनको नाताले आफ्नो आमालाई वृद्धआश्रम सम्म लगेर राख्ने व्यवस्था गर्नुपर्ने हो । हैन भने गाई हाम्रो आमा हो भन्ने बाहिर सडकमा छाडा छोडेर सडक दुर्घटना गराउने, अरुको बालीनाली खाने काम त गराउनु भएन नि !
ठिक छ किसानले त अनुत्पादक भएपछि छाडा छोड्यो रे तर धर्मको ठेक्का लिएको जस्तो तर्क गर्नेहरुले ती माताहरुलाई सडकमा बेवारिसे देखेपछि थोरै दया पलाउनु पर्ने हो, लगेर घरमा राखेको भए माता पनि खुशि आफु पनि खुशि हुन्थ्यो । अझै गाउँघरमा के सम्म गरेका पाएका छौँ भने बाच्छो जन्मायो भने कलिलोमा नै मारेको कयौं उदाहरणहरु छन् । भविष्यमा आउने जटिल समस्यलाई हल गर्ने नाममा कलिला बाच्छाको हत्या गर्नु पक्कै जायज हैन होला ?
सडकमा बेवारिसे अवस्था र अनुत्पादक अवस्थामा करिब ३७ लाख गाई गोरु छन् । तिनलाई न्युनतम १५,१६ हजारको दरमा मात्रै बिक्री गरे पनि २७,२८ अर्ब हुनेछ । अर्बौको गाई गोरु धर्मको नाममा बेवारिसे छाडेर हामी विदेशीसंग दुई चार करोडको भिख माग्दै हिडिरहेका छौँ । गाई पालकहरुको पीडाको सम्बोधन राज्यले गर्नुपर्ने हो तर राज्यका निकायहरू बेखबर छन, रमिते हेरेर बसेका छन् ।
केही दिन अगाडि डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकामा संरक्षण गरिनु पर्ने गाईगोरुलाई महाकाली नदीमा बगाएको भिडियो भाइरल भएका थिए । नबगाएर गरौँ के त ? हजारौं गोरु कि राज्यले व्यवस्थापन गर्नु पर्ने हो कि त तिनै गाई गोरु काट्न मिल्दैन भन्नेले घरमा लगेर पाल्नु पर्ने हो । दुइटै नभएसि भोकभोकै मर्नदिनु भन्दा महाकाली नदिमा बगाएर धर्म गर्न खोजेको पनि हुनसक्छ ।
छाडा छाडेका गाई गोरुको न त घाँसको व्यवस्था छ न त बिरामी हुदा उपचारको ! लम्पी स्किन भाईरसको कारण गाई गोरुलाई निक्कै समस्य छ, कति सडकमा यतिकै यो रोगको कारण मरिरहेका छन् तर तिनै दूध दिन छाडेसि बाहिर सडकमा गाई लखेट्नेहरु सामाजिक संजाल गाई संरक्षणको चर्का कुरा गरिरहेका छन् ।
तिनै गाई गोरुको छालाबाट बनेको ज्याकेट र जुत्ता लगाएर तिनै गाईको विषयमा चर्का कुरा गरेको देख्दा लाज लाग्नुपर्ने हो तर लाज पनि नैतिकता हुनेलाईमात्रै लाग्ने रहेछ । मात्रै भन्न खोजेको के हो भने यदि गाई गोरु मान्नेले मान्ने खानेलाई खाना दिएको भए न त गाई गोरु सडकमा बिजोग देख्नु पर्थ्यो, न त गाई पालकहरुलाई दूध दिन छाडेसि के गर्ने भन्ने चिन्ता हुन्थ्यो । एउटा भैंसीले दूध दिन छाडेसि एक लाख रुपैयाँ सम्ममा बिक्री हुन्छ तर गाईभने दूध दिन छाडेसि बाहिर लखेट्नु पर्छ । यस्तो पीडा धर्मको खोल ओड्नेहरुले बुझ्नुपर्ने हो ।
यदी यो यावत समस्यहरुलाई अनुसरण हर्दै राज्य समाधान तर्फ गएन भने राज्य पनि गाई अलपत्रको दोषि हुनेछ । आज पनि नेपालबाट हजारौं युवाहरू विदेशी गइरहेका छन् । प्लस टु सकिने बित्तिकै हरेक युवाको मनमा विदेश बाहेक अरु सपना हुदैन वैदेशिक विभागको तथ्यांक अनुसार दैनिक दुई हजारको विदेश जान्छन् । कोही शिक्षाको नाममा जान्छन् कोही रोजगारीको नाममा । जे नाम गए पनि सबैको मकसद पैसा कमाउने हो । लाखौं युवाहरू बेच्न मिल्ने देशमा गाई गोरु किन नमिल्ने ? त्योही हाम्रो पुरातनबादी मानसिकताको उपज ? गाई माता हुन त्यसैले बेच्न मिल्दैन ? माता मान्नेले नबेचोस् तर नमान्नेले त बेच्न पाउछ होला नि ?
धर्म संस्कृति जोगाउनको लागि कसैले गाई पालेको वा कसैको धर्म नष्ट गर्न गाईको मासु खाएको पनि हैन । राई लिम्बू तामाङ लगायतले आदिमकालदेखि नै गाई गोरुको मासु खाँदै आएको हो । धर्मको लागि गाई पालेको हो भने मन्दिरको पुजारीहरुले गाई किन नपालेको भन्ने प्रश्न नि संगै उठ्छ । गाई गोरु पनि मानिसहरूले अरु जनावरहरु जसरी नै आम्दानिका लागि पाल्ने हुन भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।
लुकिछिपि गाई गोरुको मासु खादा पनि कानुनको आडमा सुराकी आधारमा प्रहरीले समातेर कारबाही गर्न थालेपछि धराणमा किराँतहरु खुल्लारुप राज्यलाई चुनौती दिएर सार्वजनिक ठाउमा गोरुको मासु खाएका हुन । सामान्य जनता माथि मासु खाएकै निहुँमा जेल हाल्ने जस्ता अत्याचार गर्ने कानुन परिमार्जन हुनैपर्छ । कुनै एक धर्मको मनोविज्ञानलाई हेरेर गोरुको मासु खाँदा कारबाही हुने कानुन यो देशका आदिबासी जनजातिहरुको खिलाप छ जसले मासु आदिम कालदेखि खाँदै आएका छन् ।
व्यवसायिक दृष्टिकोणले सोच्ने हो भने विश्वमा सबैभन्दा धेरै खपत हुने भनेको गाई गोरुको मासु हो । नेपालको पाँचतारे होटलमा गाईको मासु महंगो मुल्य भारतबाट आउछ तर नेपालको सडकमै गाई गोरु फालाफाल छ । पुर्व राजा ज्ञानेन्द्रको सोल्टी होटलमा पनि गाईको मासु पाइन्छ ।
हिन्दु धर्म मान्ने मान्छेहरूले गाईलाई पूजा गर्ने गर्छन् । त्यसो त भैँसीलाई पनि पूजा गर्ने गरिन्छ । हिन्दु यस्तो धर्म हो, जसले धेरै पशुपन्छीको पूजा गर्ने गर्छ । गाई, गोरु, भैँसी, बाघ, सर्प, हात्ती, काग, परेवा, हाँस आदि पशुपन्छीको पूजा गर्ने गरिन्छन् । पूजा गर्नेमध्ये भैँसी खुलमखुला काटिएकै हुन्छ, हाँस र परेवा पनि काटिएकै हुन्छ । भैँसी, हाँस र परेवा काट्ने मान्छेलाई कुनै कारबाही गरिँदैन । तर, गाई/गोरु काटेको अभियोगमा सयौँ मान्छेलाई जेलमा सडाइएको छ । यो कति धेरै विभेदकारी व्यवस्था हो, तथ्यहरू आफैँ बोलेका छन् ।
देशमा हिन्दु धर्म मात्रै मान्ने मान्छेहरू छैनन् । इसाई, इस्लाम, किराँत आदि धर्म मान्ने मान्छेहरू पनि छन् । हिन्दु धर्म मान्ने मान्छेले गाई, गोरुको मासु नखाए पनि अन्य धर्म मान्ने मान्छेहरूले गाई/गोरुको मासु खाने गर्छन् । धर्मनिरपेक्ष मुलुकमा गाई/गोरु काटेर मासु खाएकै आधारमा मान्छेलाई जेलमा पठाउनु सुहाउने कुरा होइन । यो एकातिर धर्मनिरपेक्षताविरोधी कुरा हो भने अर्काेतिर अन्य धर्मावलम्बीहरूमाथि गरिएको अत्याचार पनि हो ।
राज्यले धार्मिक अतिवादीको डरले किसानमारा गाई निति लागू गर्नुहुँदैन । जसले गाई पालेको छैन, उसले गाई बिक्रीवितरण गर्न पाइदैन भन्दै नारा लगाउनुको कुनै अर्थ छैन । व्यवसायिक हिसाबले गाई पालेकाहरुलाई दूध बेचेर मात्रै नाफा आर्जन गर्न सक्दैन तर धार्मिक अतिवादिहरुका कारण दूध दिन छाडेसि गाईलाई सडकमा छाडा छोड्न बाध्य छ ।
अनुत्पादक गाई/गोरु बेचेर किसानले अर्बौं आम्दानी गर्ने बाटो बन्द गरिएको छ । अब यो नीतिलाई पूरै बदलेर गाई/गोरुलाई किसानको आम्दानीको मुख्य स्रोत बनाइनुपर्छ । गाईको पूजा गरेर मात्रै सबै किसानलाई खानलाउन पुग्दैन । गाई पूजा गर्नेहरूलाई पूजा गर्न छुट दिइनुपर्छ, यसमा रोकतोक गर्नुपर्ने कुनै आवश्यकता छैन । पूजा नगर्नेहरूले गाई/गोरुबाट प्रशस्त आम्दानी गर्न पाउनुपर्छ, त्यसमा पनि रोकतोक गर्नुपर्ने आवश्यकता छैन । देशको बीसौँ अर्बको आम्दानीको स्रोतलाई सडक, जंगलमा छोडेर देशले आर्थिक विकास गर्न सक्दैन ।
यो मुलुकमा गाई खानु हुदैन भन्ने समुदाय भन्दा कयौं पहिले गाईको मासु खाना पाउनुपर्छ भन्ने आदिबासीहरु आएका हुन, उनिहरुले सोही समयदेखि नै गाईको मासु खाँदै आएका छन् । त्यसैले गाईको मासु खाएर हिन्दुलाई हेप्न खोज्यो भन्ने तर्क गर्छन् भने यो सरासर गलत हो । त्यसैले संविधान संशोधन गरेर गाई गोरुको मासु इच्छा लाग्नेले खाना पाउने व्यवस्था गर्नुपर्छ ।उज्यालोनेटवर्क