काठमाडौँ । काठमाडौँको महाराजगन्जमा गोली लागेर घाइते अवथामा भेटिएकी शर्मिला चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । उनको त्रिवि शिक्षण अस्पतालमा बिहीबार मृत्यु भएको हो ।
यही असोज १० गते काठमाडौँ महानगरपालिका–४ पञ्चकन्यास्थित आफ्नै डेरामा गोली लागेको अवस्थामा भेटिएकी चौधरीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।
मृतक चौधरी नौ दिन अघि उनका श्रीमान् नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक लक्ष्मण चौधरीले बोक्ने पेस्तोलबाट गोली लागेर घाइते भएको अवस्थामा निवासमा भेटिनुभएको थियो । उनको कोखामा एक राउन्ड गोली लागेको अनुसन्धानबाट खुलेको छ ।
लक्ष्मण चौधरी पूर्वआइजिपी ध्रुवबहादुर प्रधानको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ)समेत रहनुभएको छ । उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ढुङ्गेलले बताए ।