यसरी ढिलाई हुन्छ नेपालमा विकास आयोजनाहरु

everest kitchen

काठमाडौ । नेपालको सम्पूर्ण परामर्शदात्री निकायहरूको साझा संस्था स्काफका अध्यक्ष इन्जिनियर ठाकुरप्रसाद शर्माले नेपालका विकाश आयोजना ढिलाई हुनुका रहस्यहरु खोलेका छन् । ललितपुरको सानेपास्थित एभरेष्ट इन्जिनियरिङ कलेजका अन्तिम वर्षका विद्यार्थीहरूसँग अन्तरकृया कार्यक्रममा यसबारे आफनो अनुभब सुनाएका हुन् ।
पढाई सकिएपछि कर्मक्षेत्रमा सफल हुन के कस्ता सिपहरू सिकेर जानुपर्दछ भन्ने विषयमा कार्यक्रम केन्द्रित थियो । लगभग ७० जना विद्यार्थीहरू र कलेजका विषय शिक्षकहरू सम्मिलित अन्तरकृयामा अध्यक्ष शर्माले सिकारु इन्जिनियरले काममा जाँदा के कस्ता कुरामा होस् पुयाउनु पर्दछ र आयोजना व्यवस्थापनमा के कस्ता समस्याहरू आउन सक्दछ भन्ने विषयमा जानकारी दिए ।
वार्षिक बजेटमा छुट्ट्याइएको रकमले आयोजना कार्यान्वयनमा पर्नसक्ने प्रभाव तथा स्थानीय मुद्दाहरूलाई पहिले नै आँकलन गर्न नसक्दा कसरी आयोजना कार्यान्वयनमा समस्या आउन सक्दछ भन्ने विषयमा नागढुङ्गा टनेल आयोजनाको उदाहरणसहित प्रकाश पारे । सुरक्षालाई प्राथमिकतामा नराख्दा आयोजनामा कसरी नकारात्मक प्रभाव पर्न सक्छ र यसको लगि नयाँ इन्जिनियरहरूले कसरी सतर्कता अपनाउनु पर्दछ भन्ने विषयमा पनि अध्यक्ष शर्माले विभिन्न आयोजनाहरूको उदाहरणसहित सप्रङ्ग रोचक व्याख्या गरे ।
एआई र नयाँ प्रविधिहरू तथा सफ्टवेरहरूको इन्जिनियरिङमा लगातार प्रयोग बढिरहेको तर विश्वविद्यालयको पाठ्यक्रम त्यस अनुसार परिमार्जन हुन नसक्दा हुन गएको खाल्डो भर्न सीपमुलक तालिम कलेजले नै दिनुपर्ने कुरामा पनि अध्यक्ष शर्माले जोड दिए । समुहमा काम गर्न नसके पेशागत सफलता पाउन गाह्रो हुने हुँदा समुहमा काम गर्ने सीप विकासमा लाग्न पनि अध्यक्ष शर्माले विद्यार्थीहरूलाई सुझाव दिए ।
आगमी पाँच, दश र बीस वर्षपछि आफुले कस्तो पेशा अपनाउने भन्ने विषय अहिले नै निर्धारण गर्न सकेमा पछि गएर पेशगत सफलता पाउन सघाउने कुरामा जोड दिँदै अध्यक्ष शर्माले आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै अहिलेदेखि नै आफुलाई मनपर्ने विषय छान्न सुझाव दिए । पेशागत सफलताको लागि आवस्यक पर्दा जोखिम मोल्न सक्नुपर्ने कुरा पनि अध्यक्ष शर्माले आफ्नै व्यक्तिगत अनुभवको आधारमा जानकारी दिए । कोभिड महामारीको समयमा नेपाली इन्जिनियरहरूले देखाएको आयोजना व्यवस्थापनको सफल अनुभवबाट एसियाली विकास बैंकले समेत नेपाली स्थानीय इन्जिनियरहरूको क्षमताको प्रसंसा गरेको अनुभव सुनाउँदै तत्काल सफलता नपाए पनि लगातार प्रयास गरेमा सफलता अवस्य पाउने दिलासा दिए ।
कार्यक्रममा स्काफ नेपालका उपमहासचिव इन्जिनियर मन्दाकिनी कार्की र कार्यकारी सदस्य इन्जिनियर दिपेन्द्र कुमार झासहित एभरेष्ट इन्जिनियरिङ कलेजका सिभिल इन्जिनियरिङ विभागका विभागीय प्रमुख रोमहर्ष ओली तथा विषय शिक्षक प्राडा हरिकृष्ण श्रेष्ठ पनि उपस्थित थिए । प्राडा श्रेष्ठले विद्यार्थीहरूको सीप विकास तथा इन्जिनियरिङ विषय अध्ययनको सकारात्मक प्रयोगको लागि उपयोगी हुने भएकोले यस प्रकारको कार्यक्रमको नियमितताको लागि कलेज व्यवस्थापनलाई अनुरोध गरे ।
विद्यार्थीहरूका प्रश्नहरूको उत्तर दिने क्रममा अध्यक्ष शर्माले आफूले जागिर खाएको कम्पनीलाई समयमै जानकारी दिएर मात्र छोड्न आग्रह गरे । स्थाई सरकारी जागिर किन छोड्नु भयो प्रश्नको उत्तरमा अध्यक्ष शर्माले आफूलाई पानीजन्य विषयमा काम गर्न रूची भएको तर सरकारी क्षेत्रमा काम गर्दा उक्त विषयमा काम गर्ने मौका कम भएको र वृत्तिविकासको अवसर पनि कम भएकोले स्नातकोत्तर अध्ययन पश्चात सरकारी जागिर छोडेको जानकारी दिए । इन्जिनियरिङको पेशागत काममा राजनीतिक दवाव कतिको आउँछ भन्ने प्रश्नमा नगरपालिकामा मेयरहरूले आफ्नो राजनीति अनुसारको काम गर्न र निर्णय गर्न दवाव दिने भएकोले अहिलेको परिस्थितिमा राजनीतिक दवाव प्रचुर भएको जानकारी दिए । अन्य विकसित देशमा विदेशी शैक्षिक प्रमाणपत्रलाई महत्व नदिने तथा नेपालमा प्रसस्त सम्भावना भएकोले नेपाली विद्यार्थीहरूले अध्ययन पश्चात पनि नेपालमै काम गर्न सुझाव दिए ।
अन्तरकृया कार्यक्रममा स्काफ नेपालका महासचिव इन्जिनियर कमल कार्कीले नेपालको निजी क्षेत्रमा काम तथा सम्भावना प्रचुर रहेको तर सफल हुन धैर्य पनि उतिकै आवश्यक भएको कुरा उजागर गर्दै नेपालकै परामर्शदातृ निकायहरूबाट नेपालमा सफल कार्यान्वयन भएका आयोजनाहरूको उदाहरण दिँदै देशमै काम गर्दा पनि सफल हुने कुरामा जोड दिए । हामी नेपालीले नेपालको विकास नगरे अरूले आएर नगर्ने तथ्यमा पनि इन्जिनियर कार्कीले जोड दिए ।
कार्यक्रममा एभरेष्ट इन्जिनियरिङ कलेजका प्रमुख कार्यकारी अधिकारी अरूणकुमार भण्डारीले यस प्रकारका अन्तरकृयाबाट विद्यार्थीहरूले पाठ्यक्रम भन्दा बाहेकको पेशागत उपयोगी विषयमा ज्ञान हासिल गर्न सक्ने भएकोले अनुभवी विज्ञहरूसँगको अन्तरकृयाबाट लाभ लिन विद्यार्थीहरूलाई सुझाव दिए ।
यसैवीच एभरेष्ट इन्जिनियरिङ कलेज तथा स्काफबीच समझदारी पत्रमा हस्ताक्षर समेत भएको थियो । अन्तरकृया कार्यक्रमको संयोजन तथा सञ्चालन कलेजका प्राचार्य इन्जिनियर विरोध रिजालले गर्नुभएको थियो ।