उत्तर कोरियामा पुटिनको भव्य स्वागत

everest kitchen

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि उत्तर कोरिया पुगेका छन् । पुटिनलाई शासक किम जोङ उनले विमानस्थलमा स्वागत गरेका थिए । पुटिनसँग १० रुसी मन्त्री र अधिकारीको प्रतिनिधिमण्डल सहभागी छ । जसमा परराष्ट्रमन्त्री सर्गेई लाभरोभ र रक्षामन्त्री एन्ड्रे बेलोसोभ सामेल छन् ।

पुटिनको स्वागतका लागि विमानस्थलमा रातो कार्पेट बिछ्याइएको थियो । दुवै नेताले एकअर्कालाई अँगालो हालेका थिए । त्यसपछि पुटिनलाई राजधानी प्योङयाङको सिटी स्क्वायरमा औपचारिक स्वागत गरिएको थियो । चोकलाई रंगीन बेलुनले सजाइएको थियो । पुटिनको गाडी हेर्न हजारौं मानिस सडकमा भेला भएका थिए । उनको हातमा रुस र उत्तर कोरियाको झण्डा थियो ।

यसबाहेक केही भवनमा पुटिन र किम जोङका ठूला पोस्टर पनि टाँसिएका थिए । पुटिनलाई सहरको चोकमा स्वागत गर्न मिलिटरी ब्याण्डले दुवै देशको राष्ट्रिय गान बजाएको थियो । यसै क्रममा त्यहाँ जम्मा भएका बालबालिकाले हातमा रंगीन फूल पनि बोकेका थिए । कार्यक्रममा किम जोङकी बहिनी किम यो जोङ पनि त्यहाँ उपस्थित थिइन् ।

बीबीसीका अनुसार पुटिनको स्वागतका लागि भव्य परेड बाहेक प्योङयाङको १०५ तले रुग्योङ होटललाई एलईडी बत्तीले सजाइएको थियो । त्यसमा ‘वेलकम पुटिन’ र ‘फ्रेन्डशिप’ लेखिएको देखियो । रुसी समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार दुई नेताबीच द्विपक्षीय बैठक पनि भएको थियो । यस क्रममा पुटिनले युक्रेन युद्धमा रुसलाई सहयोग गरेकोमा किम जोङलाई धन्यवाद दिएका थिए ।

पुटिनले नयाँ आधारभूत दस्तावेजको पनि घोषणा गर्दै दुई देशबीचको सम्बन्धको जग बलियो बनाउने घोषणा गरेका छन् । पुटिनले गत वर्ष किम जोङको रुस भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध बलियो भएको बताए । अब यो साझेदारीलाई अगाडि बढाउन नयाँ आधारभूत दस्तावेज तयार भएको छ ।

पुटिनले अमेरिकाको धम्कीविरुद्ध रुसले उत्तर कोरियालाई साथ दिने बचन दिएका छन् ।  भेटमा पुटिनले अमेरिकी दबाब, ब्ल्याकमेल र धम्कीविरुद्ध रुसले उत्तर कोरियालाई साथ दिने वाचा गरेका थिए । रुसी राष्ट्रपतिले किम जोङलाई रुस भ्रमणको निम्तो पनि दिएका छन् । किम यसअघि सेप्टेम्बर २०२३ मा रुसको भोस्टोचनी कस्मोड्रोम पुगेका थिए, जहाँ पुटिनले उनलाई स्वागत गरेका थिए ।

बैठकमा तानाशाह किमले युक्रेन विरुद्ध रुसको युद्धलाई समर्थन गर्ने बताएका थिए । यो भ्रमण अघि पुटिनले उत्तर कोरियाको अखबार रोडाङ सिनमुनको लागि लेख लेखेका थिए । यसमा उनले उत्तर कोरिया र त्यहाँका जनतालाई सहयोगका लागि धन्यवाद दिएका छन् । पुटिनले उत्तर कोरियाली जनतालाई ‘कपटी, खतरनाक र आक्रामक’ शत्रु विरुद्धको स्वतन्त्रता र पहिचानको लडाइमा रुसले सधैं समर्थन गरेको र जारी राख्ने पनि लेखेका छन् ।

पुटिनको भ्रमणलाई लिएर किमले रुससँग आवश्यक हतियारको बदलामा आर्थिक सहायता र प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता गर्न सक्ने अनुमान गरिएको छ । वास्तवमा, युक्रेन युद्धमा संलग्न रहन रूसलाई थप हतियार चाहिन्छ । युक्रेन युद्ध सुरु भएयता उत्तर कोरिया र रुसबीच सैन्य र आर्थिक सहयोग तीव्र गतिमा बढेको छ । अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाले रुसलाई गोलाबारुद, मिसाइल र अन्य सैन्य उपकरण उपलब्ध गराएको आरोप लगाएका छन् ।

ब्लूमबर्गको एक रिपोर्टमा दक्षिण कोरियाको रक्षा मन्त्रालयले रुसले उत्तर कोरियालाई ५० लाख तोपको गोला पठाएको दाबी गरेको छ । यद्यपि, प्योङयाङ र मस्को दुवैले हतियार हस्तान्तरणको आरोपलाई स्पष्ट रूपमा अस्वीकार गर्दै आएका छन् ।
पुटिनले मार्च २००० मा राष्ट्रपति बनेको केही महिनापछि जुलाई २००० मा प्योङयाङको भ्रमण गरेका थिए । उनले किमका पिता तथा उत्तर कोरियाका शासक किम जोङ इलसँग भेट गरेका थिए ।

सन् २०११ मा उत्तर कोरियाको सत्ता सम्हालेका किम जोङ उनले आफ्ना पिताजस्तै रुस र चीनसँग राम्रो सम्बन्ध बनाउने प्रयास गरेका छन् । रुसले सन् २०१२ मा उत्तर कोरियाको सबै ऋण माफ गरेको तथ्यबाट पुटिनसँग किम जोङ उनको निकटताको अनुमान लगाउन सकिन्छ ।