पशुपति क्षेत्रमा कोटिहोम लक्षित बृहत सरसफाइ

everest kitchen

काठमाडौँ । पशपति मन्दिर क्षेत्रमा शनिबार बृहत सरसफाइ गरिएको छ । मानव सेवा फाउन्डेसनलगायत विभिन्न संघ–संस्थाको आयोजनामा साउन महिनाभर पशुपति क्षेत्र परिसरमा कोटिहोम महायज्ञ आयोजना हुँदैछ । कोटिहोमको पूर्वसध्यामा बृहत सरसफाइ कार्यक्रम गरिएको हो ।

सरसफाइ कार्यक्रममा शसस्त्र प्रहरी, महानगर प्रहरी, स्थानीय गरि करिब ६०० जनाको उपस्थिति रहेको थियो । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता पुष्पबहादुर शाहसहितको सहभागितामा भएको सरसफाइ कार्यक्रमले नागरिकमा जनचेतनाका साथै धार्मिक कर्ममा हातेमालो भएको महायज्ञ उपसमिति संयोजक लेखराज ढकालले बताए ।

‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ नाम दिइएको उक्त विराट महायज्ञ आगामी साउन १ देखि ३२ गतेसम्म सञ्चालन हुँदैछ । ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ महायज्ञ आयोजना हुन गइरहेको हो ।

कोटिहोमकै अवसरमा ३० गते साइकल यात्राको कार्यक्रम राखिएको आयोजकले बताएका छन् । त्यस्तै, कोटिहोम सुरु हुने अघिल्लो दिन अर्थात् असार ३१ गते कलश शोभा यात्रा रहेको छ । देश तथा विदेशबाट समेत उक्त कलश यात्राका दिन हजारौँ धर्मानुरागिहरुले सहभागिता जनाउने आयोजकको अपेक्षा छ ।

महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवी प्रतिभालगायतले कथावाचन गर्नुहुने छ भने महायज्ञमा १०८ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिक मन्त्रसहित अनवरत हवन, ५ हजार १०० दिव्य कलश पूजन, ४ वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माणलगायतको कार्यक्रम रहेको छ ।