काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा रहेको निराशा चिरेर अर्थतन्त्रलाई सुदृढ बनाउनु नै सरकारको प्रमुख ध्येय भएको बताएका छन् ।
नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तनकारी काम गर्नका लागि आफ्नो नेतृत्वमा नयाँ सरकार गठन भएको बताए ।
एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पदका लागि मात्रै आफू पुनः प्रधानमन्त्री जिम्मेवारीमा नआएको दाबी गरे । उनले भने- ‘म यसअघि नै प्रधानमन्त्री बनिसकेको हो, पदका लागि मात्रै पुनः जिम्मेवारीमा आएको होइन, केही न केही नयाँ काम गरौँ, मुलुकको समस्या समाधानमा योगदान गरौँ भनेर जिम्मेवारी लिएको हो ।’
प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई सुदृढ र चलायमान बनाउनेतर्फ सरकारको विशेष रुचि र ध्यान रहेको बताउदै नेपाल राष्ट्र बैङ्कले ल्याउन लागेको मौद्रिक नीति निजी क्षेत्र मैत्री हुने सङ्केत गरे ।