बालमैत्री बन्दै हेटौंडा–२, शनिबार घोषणा गरिने

everest kitchen

बसन्त भण्डारी / हेटौंडा | हेटौंडा उपमहानगरपालिका वडा–२ ले शनिबार बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने भएको छ । बिहिबार पत्रकार सम्मेलन आयोजना गर्दै वडा अध्यक्ष विष्णुगोपाल महर्जनले भने, “हामीले लामो समयदेखि गरेको मेहनत र तयारी अब फलदायी हुँदैछ । शनिबार हामी औपचारिकरुपमा हाम्रो वडालाई बालमैत्री वडाका रुपमा घोषणा गर्दैछौं ।”

वडाले बालमैत्री स्थानीय शासन घोषणाका लागि उल्लेखनीय प्रगति हासिल गरेको छ । नेपाल सरकारको मापदण्डअनुरुप आवश्यक ५१ वटा सूचकमध्ये ४५ वटा सत्प्रतिशत्, ३ वटा ९६ प्रतिशत्, १ वटा ९५ प्रतिशत् र १ वटा ९० प्रतिशत् पूरा भएका छन् । केवल एउटा सूचक २० प्रतिशत्मा सीमित छ, जसलाई सुधार गर्न थप प्रयास भइरहेको अध्यक्ष महर्जनले बताए ।

वडामा १८ वर्षमुनिका १ हजार ८ सय ११ बालबालिका छन् । जसमध्ये ५२.१३ प्रतिशत् (९ सय ४४) बालक र ४७.८७ प्रतिशत् (८ सय ६७) बालिका छन् । बालबालिकाको सक्रिय सहभागिताका लागि १९ वटा बालसमूह र १ वटा वडा बालसञ्जाल गठन गरिएको छ, जसमा ४ सय ६० बालबालिका आबद्ध छन् । विभिन्न संरचनागत् समितिमा थप २५ जनासहित कुल ४ सय ८५ बालबालिकाको प्रत्यक्ष सहभागिता छ ।

वडामा १ सामुदायिक र २ संस्थागत् गरी ३ विद्यालय र २ वटा बालविकास केन्द्र सञ्चालनमा छन् । यसले सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याएको छ । अध्यक्ष महर्जनले पत्रकार भेटमा भने, “विद्यालयहरुमा छात्र र छात्राका लागि अलग शौचालय व्यवस्था, सेनिटरी प्याड वितरण र बालमैत्री आचारसंहिता लागु गरिएको छ । विद्यालय भर्ना अभियान, नियमित उपस्थिति सुनिश्चितता र अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएका छन् ।”

वडाले बालबालिकाको स्वास्थ्य र पोषण सुधारका लागि पूर्ण स्तनपान प्रवद्र्धन र स्तनपानकक्ष स्थापना गरेको छ । पोषण शिक्षा र ५० सुत्केरी तथा बालबालिकालाई पोषण सामग्री वितरण गरेको अध्यक्ष महर्जनले बताए । बालसंरक्षणका लागि वडाले बालविवाह, बालश्रम र बाल दुव्र्यवहारविरुद्ध सचेतना कार्यक्रमहरु गरेको छ । बालअधिकार समितिको सक्रिय काम भइरहेको र बालश्रममा भेटिएका बालबालिका उद्धार, मनोसामाजिक परामर्श र पारिवारिक पुनस्र्थापना गरिएको अध्यक्ष महर्जनले बताए ।

अध्यक्ष महर्जनका अनुसार विद्यालय र समुदायमा लागुपदार्थ दुव्र्यसन र साइबर अपराधसम्बन्धि सचेतना कार्यक्रम, बालमैत्री सम्पर्क व्यक्ति नियुक्ति, जन्मदर्ता अभियान र विद्यालय भर्नामा जन्मदर्ता अनिवार्य जस्ता कार्य गरिएका छन् ।

आर्थिक वर्ष २०८१/०८२ का लागि वडाले बालमैत्री कार्यक्रममा ३८ लाख बजेट विनियोजन गरेको अध्यक्ष महर्जनले बताए । उनले यसमा बालमैत्री स्थानीय शासन घोषणा तयारीका लागि ५ लाख, बाल भेलाबाट छनौट भएका कार्यक्रमका लागि ५ लाख, स्वास्थ्य कार्यक्रमतर्फ ४ लाख, छात्रवृत्ति कार्यक्रमतर्फ १ लाख, विद्यार्थी सम्मान तथा पुरस्कारका लागि १ लाख, चिल्ड्रेन पार्क तथा खुला व्यायामशाला निर्माणका लागि १० लाख, खेलकुद प्रतियोगिता र सामग्री खरिदका लागि ७ लाख बजेट बिनियोजन गरिएको उनले बताए ।

वडा अध्यक्ष महर्जनले भने, “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी हो । शनिबारको घोषणास“गै हामी बालबालिकाको सर्वांगीण विकासका लागि थप प्रतिबद्ध र जवाफदेही हुनेछौं । हामी निरन्तर सुधार र प्रगतिका लागि प्रयासरत् रहनेछौं ।”

वडा कार्यालयले घोषणा कार्यक्रमको तयारी तीव्र पारेको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र विशेषगरि बालबालिकाको उपस्थिति रहने जनाइएको छ । यस अवसरमा वडाको बालमैत्री यात्रा, उपलब्धिहरु र भावी योजनाको विस्तृत प्रस्तुति हुने बताइएको छ ।

हेटौंडा–२ को उक्त प्रयासले बालबालिकाको समग्र विकास र सहभागितालाई प्राथमिकता दिएको छ, जुन दीर्घकालीन सामाजिक विकासका लागि महत्वपूर्ण छ । शनिबारको घोषणाले न केवल वडालाई, बरु सम्पूर्ण हेटौंडा उपमहानगरपालिका र वागमती प्रदेशलाई बालमैत्री वातावरण निर्माणतर्फ अग्रसर गराउने आशा गरिएको छ ।