इरानी ह्याकरको निशानामा ट्रम्पको चुनावी अभियान

everest kitchen

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानले आफ्नो आन्तरिक कुराकानी, योजनासँग सम्बन्धित जानकारी र कागजात ह्याक भएको दाबी गरेको छ । अभियानका अनुसार यो ह्याकिङ घटना इरानी ह्याकरहरूले गराएका हुन् ।

अमेरिकी समाचार वेबसाइट पोलिटिकोलाई ट्रम्पको अभियान कार्यक्रमसँग सम्बन्धित व्यक्तिगत कागजातहरू इमेल मार्फत पठाइएको छ । यसमा रिपब्लिकन पार्टीको उपराष्ट्रपति पदका उम्मेदवार भान्सको बारेमा पार्टीको अनुसन्धानसँग सम्बन्धित जानकारी पनि समावेश छ ।

ट्रम्पको अभियानसँग सम्बद्ध एक प्रवक्ताले यी कागजातहरू अमेरिकाको शत्रु देशले २०२४ को राष्ट्रपति चुनावमा हस्तक्षेप गर्ने उद्देश्यले चोरेको आरोप लगाएका छन् । पोलिटिकोले यी कागजातहरू प्रमाणित गरेको दाबी गरेको छ ।

ट्रम्पको पार्टीका प्रवक्ता स्टिभन चेउङले इरानले ट्रम्पलाई फेरि राष्ट्रपति बन्नबाट रोक्न चाहेको बताएका छन् । स्टिभनका अनुसार यदि ट्रम्प सत्तामा फर्किए भने उनले अघिल्लो कार्यकालमा जस्तै इरानको आतंकवादी गतिविधि रोक्ने दाबि गरेकाछन् ।

स्टीभनले ह्याङ्किङको समय रिपब्लिकन पार्टीको उपाध्यक्ष पदका उम्मेद्वार जेडी भान्सको चयनसँग जोडिएको छ । पोलिटिकोलाई जुलाई २२ मा नै २७१ पेजको इमेल पठाइएको थियो ।

ट्रम्पले ओहायोका सिनेटर जेम्स डेभिड भान्सलाई जुलाईमा रिपब्लिकन पार्टीको उपराष्ट्रपतिको उम्मेदवार बनाएका थिए । ट्रम्पको चुनावी वक्तव्यको एक दिन अघि शुक्रबार सफ्टवेयर कम्पनी माइक्रोसफ्टले एक रिपोर्ट जारी गर्दै इरानी ह्याकरहरूले ट्रम्पको चुनावी अभियानलाई निशाना बनाएको यो रिपोर्टले दाबी गरेको छ ।

रिपोर्टका अनुसार ह्याकरहरूले रिपब्लिकन पार्टीसँग सम्बद्ध राष्ट्रपति पदका उम्मेदवारलाई निशाना बनाएका थिए । माइक्रोसफ्टको थ्रेट एनालिसिस सेन्टरले ट्रम्पको अभियानमा फिसिङ इमेल पठाइएको जनाएको छ।

केन्द्रका अनुसार पछिल्ला केही महिनामा इरानी ह्याकरहरूले गरेको ह्याकिङ आक्रमणको संख्या बढेको छ ।

माइक्रोसफ्टले पनि २०२० मा यस्तै रिपोर्ट जारी गरेको थियो । इरानी ह्याकरहरूले अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पको अभियानलाई प्रभाव पार्ने षड्यन्त्र रचेको दाबी गरिएको छ ।