एकै वर्षमा विश्वका ४५० तीर्थस्थल दर्शन गरेर इतिहास रचेका प्रदीप खनाल

everest kitchen

प्रसिद्ध धर्म गुरुहरूले भने – खनालले गुरु शंकराचार्य र नानक देवको इतिहास ‘ब्रेक’ गरे

काठमाडौं-  विश्वमा ४५० वटा प्रसिद्ध धार्मिक तीर्थस्थलहरूको दर्शन गरेर ‘विश्व रेकर्ड’ राख्ने व्यक्ति को होलान्! सनातन धर्मका प्रसिद्ध भारतीय गुरुहरू भन्छन् – कि शंकाराचार्य हुन् कि गुरु नानक देव।

भारतीय गुरु नानक देवले करिब पाँच सय वर्षअघि २१ वर्ष लगाएर यतिका तीर्थस्थलको भ्रमण गरेर विश्वमा प्रसिद्धी कमाएका थिए।

त्योभन्दा अघि गुरु शंकराचार्यले कति वर्ष लगाएर यतिको संख्यामा तीर्थस्थल भ्रमण गरेका थिए, ठ्याक्कै यकिन छैन।

अहिले आएर नेपालका प्रदीप खनालले एकै वर्षमा ४५० वटा तीर्थस्थल भ्रमण गरेर आफू ‘विश्वमै पहिलो’ व्यक्ति भएको बताइरहेका छन्। काठमाडौं कलंकीका खनाल गत जुलाई अन्तिममा ४५० वटा तीर्थस्थल भ्रमण पूरा गरेपछि एकाएक चर्चामा आएका छन्।

प्रसिद्ध सनातनी धर्मका गुरुहरूले शंकराचार्य र नानक देवपछि तेस्रो व्यक्ति भन्दै खनालको प्रशंसा गरिरहेका छन्। उनीहरूले खनालले शंकराचार्य र नानक देवको इतिहास ‘ब्रेक’ गरेको बताएका छन्।

भारतका प्रसिद्ध जगतगुरु स्वामी ऋषिपाल आनन्दले भनेका छन्, ‘खनालले सयौं वर्षपछि विश्वमा आजसम्म कसैले नगरेको तीर्थयात्रा एकै वर्षमा पूरा गरेका छन्।’

भारतकै कल्की अवतार भगवानले त्यसमा थपेका छन्, ‘शंकराचार्य र नानक देवपछि नेपालका प्रदीप खनालले यतिका तीर्थस्थलको भ्रमण पूरा गरेका छन्। यो इतिहासमै दुर्लभ घटना हो।’

भारतको मणिस्तान शिव मन्दिरको अन्तिमपटक भ्रमण गरेर नेपाल फर्केपछि खनालले आफूले ४५० औं तीर्थस्थल यात्रा सम्पन्न गरेको बताए। उनले भने, ‘यो कठिन भ्रमण पूरा गर्दा सनातनी धर्मगुरुहरूले मलाई विश्वमै पहिलो व्यक्ति ठान्दै बधाई दिइरहनुभएको छ।’

उनलाई अहिले फोन तथा सामाजिक सञ्जालमा बधाई तथा शुभकामना दिने सनातन धर्मप्रेमीहरूको ओइरो नै लागेको छ।

‘बधाई तथा शुभकामना आइरहेका छन्, विश्वमै मैले पहिलोपटक यो यात्रा पूरा गरेको छु भनी म आफूले दाबी गरेको हैन, विश्वप्रसिद्ध धर्मगुरुहरूले भन्नुभएको हो।’

छोटो समयमा ४५० तीर्थस्थलको भ्रमण गरी फर्किएका खनाल ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा आफूलाई दर्ज गर्न प्रयासरत् छन्। ‘त्यसका निम्ति गर्नुपर्ने कार्यहरूको तयारी गरिरहेको छु, हेरौं सफल हुन्छु भन्ने लागेको छ,’ खनालले भने।

खनाल धार्मिक तथा सांस्कृतिक अभियन्ता हुन्। उनी अन्तर्राष्ट्रिय मैत्री समाजका अध्यक्ष पनि हुन्।

धार्मिक-सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न भनी सुरूमा नेपालबाट तीर्थयात्रामा निस्किएका खनालले भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र चीनको तिब्बत गरी छ वटा राष्ट्रका ४५० तीर्थस्थलको भ्रमण सकाएको बताए।

उनले सन् २०२३ को जुलाई महिनामा पशुपतिनाथको दर्शन गरी यात्रा प्रारम्भ गरेका थिए। सुरूमा भ्रमणमा निस्किँदा उनले ५२ शक्तिपीठ र १२ ज्योतिर्लिङ्गको दर्शन गर्ने लक्ष्य राखेका थिए।

तर, ती तीर्थस्थल भ्रमण गरेपछि उनलाई थप ऊर्जा प्राप्त भयो। ‘यो भ्रमणले मलाई विश्वका सबै प्रसिद्ध धार्मिकस्थलको दर्शन गर्ने प्रेरणा जगायो,’ उनले भने, ‘त्यसपछि म आफ्नो यात्रामा एकाग्र भएर लागें।’

खनालले चार वटा आदि शक्तिपीठ, १८ वटा महाशक्तिपीठ, ५२ वटा शक्तिपीठ, १०८ वटा सिद्धपीठ, चार धाम, सप्तपुरी, बारा ज्योतिर्गलिङ्ग, बुद्ध धर्मका १३ तीर्थस्थल, सिख धर्मका ११ वटा, अन्य २३ ठाउँ मानसरोबरदेखि कन्याकुमारी, पर्शुराम कुण्डदेखि अमरकन्टक, पाकिस्तानको हिङ्गलाज शक्तिपीठको अनिलकुण्डसम्म पुगेर स्नान गरे।

यस्तै, पाकिस्तानकै कटासराजको ६ हजार वर्ष पुरानो शिवलिंग, नैनासारान्याको चक्रवर्ती प्रयागराजको त्रिदेवीसम्म दर्शन गरेको खनालले बताए।

यसैमा खनालले भगवान शिवकी पत्नी सतीदेवीको अंग पतन भएका ११६ तीर्थस्थलको भ्रमण गरेको बताए। विश्वमा सतीदेवीको अंग पतन भएका ठाउँबारे विवाद छन्।

सतीदेवीको अंग पतन भएका तीर्थस्थल कतै १८, कतै ६, कतै ५२, कतै ७६ र कतै १०८ वटा हुन् भन्ने दाबी गरिँदै आएको छ। तर, आफूले ११६ ठाउँमा सतीदेवीको अंग पतन भएको नयाँ तथ्य पत्ता लगाएको बताए।

‘मैले दाबी गरेको कुरा सबैलाई पत्यार नलाग्न पनि सक्छ, तर तीर्थस्थलको भ्रमणमा मैले ११६ ठाउँ सतीदेवीको अंग पतन भएको पाएँ,’ खनालले भने।

खनालको भ्रमणबारे सिलिगुडीका धर्मगुरु आचार्य मुक्तिनाथ अधिकारीले भनेका छन्, ‘सायद, यतिको भ्रमण दुई तीन महापुरुषले मात्र गरेका छन्, त्योमध्ये खनाल एक हुन्, इतिहासले तपाईंलाई त्यही दाँजोमा राख्नेछ।’

श्रीलंकाका हिन्दुवादी धार्मिक अभियन्ता बालाजीले खनालको भ्रमणबारे भनेका छन्, ‘असम्भव भन्ने केही छैन, यो कठिन यात्रा इतिहासमा दर्ज हुने छ, आगामी पुस्ताको लागि अध्ययन अनुसन्धानको सोच बन्छ, तपाईंको भ्रमणले प्रेरित गर्ने छ।’

यस्तै, दिल्लीका सामाजिक कार्यकर्ता चमन शर्माले खनालले ‘आजसम्मको सनातन धर्म इतिहासमा कसैले पनि गर्न नसकेको काम’ भनेका छन्।

उल्लेखित सबै प्रशंसाहरू खनालले भ्रमण सकेर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राखेपछि प्राप्त भएका प्रतिक्रियाहरू हुन्।

पशुपतिनाथका भट्ट रावल गणेशले खनालको भ्रमणको श्रीगणेश गरेका थिए। उनले खनालले सम्पन्न गरेको तीर्थस्थल दर्शनको प्रशंसा गरे। उनले भने, ‘यो हामी विश्वका सबै सनातनी धर्मावलम्बीका निम्ति अनुकरणीय कार्य हो।’

४५० तीर्थस्थलको भ्रमण पूरा गर्दा उनलाई मंगेश भागवत र श्रीडिकी विनिता लेप्चाले साथ दिएका थिए। ‘उहाँहरूको योगदान म कहिल्यै पनि भुल्न सक्दिनँ, उहाँहरूप्रति म कृतज्ञ छु।’

भ्रमण पूरापछि उनले आगामी सन् २०२५ फेब्रुअरी महिनामा बनारसमा तीन दिने शिवशक्ति समागम अनुष्ठानको आयोजना गर्न लागेका छन्। यसका लागि उनले भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग छलफल गरेका छन्।

उक्त अनुष्ठानमा कम्तीमा ५२ शक्तिपीठ, १२ ज्योतिर्लिङ्ग, चार धाम र विश्वका महत्वपूर्ण धामका गुरुहरूलाई बोलाउने तयारी उनको छ। ‘भारतका प्रधानमन्त्रीदेखि लिएर विश्वका सनातनी राष्ट्राध्यक्ष र धार्मिक अनुयायीहरूलाई समेट्ने मेरो प्रयास हुने छ,’ उनले भने।

खनालले यो तीर्थयात्रा नेपालको धार्मिक पर्यटन प्रवर्द्धन तथा विकास र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउनका निम्ति गरेको बताए। ‘नेपालमा जति पनि पर्यटकीय क्षेत्र छन् ती ८० प्रतिशत धार्मिक तीर्थस्थल हुन्, बाँकी २० प्रतिशत अन्य जलशक्ति तथा प्राकृतिक क्षेत्र छन्,’ खनालले भने, ‘यो ८० प्रतिशत धार्मिक पर्यटनलाई सरकारले कसरी सदुपयोग गर्छ हेर्न बाँकी छ।’

भ्रमणका क्रममा आफूले सात वटा राष्ट्रका प्रमुखहरूसँग नेपालको धार्मिक पर्यटन विकास र श्रीवृद्धिबारे कूटनीतिक रुपमा भेटेर कुराकानी गरेको खनालले बताए।

‘मैले विश्वमा सबैभन्दा बढी तीर्थस्थलको भ्रमण गरेर एउटा श्रेष्ठता हासिल गरेको छु, सनातनी धर्मावलम्बीहरूका निम्ति यो कठिन यात्रा हो, म आफ्नो योगदानको सदुपयोग होस् भन्ने चाहन्छु,’ उनले भने।

एक वर्षको यात्राको पूर्णता आफूले व्यक्तिगत लगानीमा सम्भव पारेको खनालले बताए। आफूले यसक्रममा ३५ लाख रुपैयाँ व्यक्तिगत रुपमै खर्च गरेको बताए।

‘मैले १५ लाख रुपैयाँ खर्च गरें, बाँकी रकम मैले सापटी मागेर भ्रमण खर्च जुटाएँ,’ उनले भने।