भिनिसियसलाई साउदी लिगबाट बम्पर अफर !

everest kitchen

काठमाडौँ । हाल स्पेनिस क्लब रियल म्याड्रिडबाट खेलिरहेका ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरलाई साउदी प्रो लिगले बम्पर अफर गरेको छ ।

मिडिया रिपोर्टका अनुसार साउदी लिगका चार क्लबमा लगानी भएको साउदी पब्लिक इन्भेस्टमेन्ट फण्डले भिनिसियसलाई पाँच बर्षमा एक बिलियन युरो दिने प्रस्ताव गरेको छ । जुन उनले हाल रियल म्याड्रिडमा पाइरहेको पारिश्रमिक भन्दा १३ गुणा बढी भएको बताइएको छ । भिनिसियस र उनका एजेण्टलाई सो प्रस्ताव दिइसकेको रिपोर्टमा दाबि गरिएको छ । आर्थिक प्रस्ताव बाहेक उनलाई अन्य आकर्षक प्रस्ताव समेत दिइएको छ ।

भिनिसियसको साउदी जाने हल्लाका बीच रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले भने यो हल्ला निराधार रहेको बताएका छन् । उनले यो अनुमान भन्दा अरु केहि नभएको दाबि गरेका छन् । प्रशिक्षक एन्सेलोटीले भिनिसियस रियल म्याड्रिडमै रहन चाहेको स्पष्ट गर्दै यस्ता अनुमानले उनलाई कुनै असर नगर्ने बताए ।

२४ बर्षिय भिनिसियसले रियल म्याड्रिडमा ६ सिजन खेलिसकेका छन् । उनले अहिलेसम्म २६४ खेल खेल्दै ८३ गोल समेत गरेका छन् । उनले रियल म्याड्रिडबाट अहिलेसम्म १२ ट्रफी समेत जितेका छन्, जसमा दुई च्याम्पियन्स लिग उपाधि समावेश छन् ।

साउदी प्रो लिगले स्टार खेलाडीहरुलाई ठुलो रकम अफर गरेको यो पहिलो पटक भने होइन । यस अघि नेइमार, करिम बेन्जमा, क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडीलाई लिगमा भित्र्याएको छ ।

रोनाल्डो अहिले साउदी लिगमा धेरै पारिश्रमिक पाउने खेलाडी हुन् । उनले अहिले प्रति बर्ष करिब २०० मिलियन युरो पारिश्रमिक पाउछन् । साउदी लिगमा रोनाल्डोको सम्झौता लामो नभएका कारण अब अर्को सुपरस्टारको खोजी भएको मिडिया रिपोर्टमा उल्लेख छ ।