अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

everest kitchen

काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जना पक्राउ गरको छ ।

जसमा पर्सा, पटर्वासुगौली गाउँपालिका-४ अकवा गाउँबाट अवैध लागूऔषध गाँजा ३० किलोग्राम, चरेश १ सय ९२ किलोग्राम र गाँजाको धुलो २ सय ६७ किलोग्राम सहित कालिकामाई गाउँपालिका-१ मुडली बस्ने ४० वर्षीय फुलसरिफ मियाँलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त गाउँमा लागूऔषध खरिद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले गाउँको विभिन्न स्थानबाट उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई समेत पक्राउ गरेको हो ।

काठमाडौं, चन्द्रागिरी नगरपलिका-२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ११ किलोग्राम सहित धादिङ रोराङ गाउँपालिका-९ बस्ने ३६ वर्षीय उत्तम ठकुरीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ९३३७ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी ट्रक चालक ठकुरीलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-११ बाट अवैध लागूऔषध चरेश ३८ ग्राम ८ सय ७० मिलिग्राम सहित काठमाडौं त्रिपुरेश्वर बस्ने रामेछाप खाँडादेबी गाउँपालिका-६ घर भएका २३ वर्षीय रोशन कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । प्रहरी बिट थापाथलीबाट खटिएको प्रहरीले उनलाई उक्त चरेश सहित पक्राउ गरेको हो ।

चितवन, इच्छाकामना गाउँपालिका-५ भक्टेश्वरा बस्ने ५८ वर्षीया धन माया गुरुङलाई अवैध लागूऔषध गाँजा १३ किलो ९ सय ८६ ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

झापा, कमल गाउँपालिका-२ मिलन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्राम, गाँजा १ सय ग्राम र नगद १२ हजार ६ सय रूपैयाँ सहित सोही गाउँपालिका-३ बस्ने ३५ वर्षीय कमल गुरूङ समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बसपार्क नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम र नगद २७ हजार ५ सय रूपैयाँ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका बस्ने २४ वर्षीय महेन्द्र शाही र सोही नगरपालिका-२ बस्ने २४ वर्षीय जगत शाही रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, कानेपोखरी गाउँपालिका-३ स्थित कानेपोखरी-रंगेली सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ७ सय मिलिग्राम सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका २४ वर्षीय मिथलेस कुमार मण्डल, २६ वर्षीय भस्कर कुमार शर्मा र २५ वर्षीय सौरव कुमार पासवान रहेका छन् ।  इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले रंगेलीबाट कानेपोखरीतर्फ आउँदै गरेको बिआर ३८ एल ९३०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।