राजनीतिक प्रभाव र पैसाको प्रलोभनमा नियम मिचेर शिक्षक सरुवा

everest kitchen

मुकेश कुमार यादव / सिरहा । सिरहाको गोलवजार नगरपालिकास्थित एक विद्यालयका शिक्षकलाई राजनितिक प्रभाव र पैसाको प्रलोभनमा नियम मिचेर सरुवा गरेको छ ।

नगर शिक्षा शखाले आर्थिक चलखेलमा गोलवजार २ संग्रामपुर तेतरीयाका श्री राम सुन्दर जनता आधारभुत विद्यालयका शिक्षक मोहन साहको विद्यालयबाट सरुवा सहमती नै नलिई सरुवा सिफरीस गरेको हो । सरुवा भएका शिक्षक साहले शिक्षा शाखा र शिक्षा विकाश तथा समन्वय इकाई सिरहाका कर्मचारीको सेटिङमा नीयम कानुनलाई मिचेर प्रकृया पुरै नगरी सरुवा सिफारिस गरीएको स्थानिय अभिभावकहरुको आरोप छ।

कानुन मिचेर सरुवा भएका शिक्षक मोहन साहले नगर शिक्षा शाखा र शिक्षा समन्वय इकाईका कर्मचारीसंगको आर्थिक सेटिङमा विद्यालयलाई सरुवा सम्बन्धि कुनै जानकारी नै नगराई सरुवा गरीएको सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष संतोष साहले बताए। उनले, ‘शिक्षा शाखाले विद्यालयलाई जानकारी नै नगराई नीयोजित तरीकाले शिक्षक सरुवा गर्नु कतै न कतै  सेटिङको गन्ध आउँछ; अध्यक्ष साहले थपे, ‘अन्यथा शिक्षा नियमावलीलाई लत्याउदै प्रकृया पुरै नगरी शिक्षक सरुवा किन गर्छ? यसमा बलमिचाई र आर्थिक तथा राजनीतिक चलखेल भएको छ। शिक्षक कमी रहेको वारम्वार जानकारी गराएपनि शिक्षक थप्नुको सट्टा भएको शिक्षक नै कटौती गरेपछि विद्यालयमा पठन–पाठनमा समेत सम्स्या हुन थालेको छ।’

शिक्षा शाखा प्रमुख सुवोध कुमार लामाले अफूले सवै प्रकृया पुरा गरेर सरुवा सिफारिस दिएको जिकिर गरे। उनले भने, ‘विद्यालयबाट आएको सिफारिसकै आधारमा आफूले माथिलो निकायमा सिफारिस गरेको हो, मैले कुनै प्रकृया मिचेर काम गरेको छैन।’
विद्यालयले कुनै सिपफारिस नै गरेको छैन भन्छ नी ? भन्ने प्रश्नमा उनले विद्यालयबाट अनुसुचि १७ फारम भरेर आवश्यक प्रकृया पुरा गरेर ल्याएको पत्रको आधारमा सिफारिस दिएको दावी गरे। उनले भने, ‘विद्यालयलबाट शिक्षक मोहन साहले २०८१ बैशाख ३ गते पत्र लिएर आएका थिए। त्यहि पत्रको आधारमा शिक्षा समितिबाट निर्णय गराई २३ गते सरुवा सिफारिस दिएको हौं।’

यता विद्यालयका प्रधानाध्यापक पन्चु महतोले भने विद्यालयले कुनै शिक्षकलाई सरुवा सहमति नदिएको बताए। उनले भने, ‘यहाँ विद्यालयमा शिक्षक अभाव हुदाँहुँदै मैले कसरी शिक्षक सरुवाको सहमती दिन्छु। यहाँको कुनै त्यस्तो सरुवा सहमतिको सिफारिस गएको छैन।’

गोलबजार २ संग्रामपुर तेतरीयाबाट नबराजपुर गाउँपालिकाको भगवत्ति आधारभुत विद्यालय सरुवा भएर गएका शिक्षक साहले पनि विद्यालय व्यवस्थापन समितिलाई पटक–पटक सरुवा सिफारिसको लागि अनुरोध गर्दा पनि नमाने पछि बैकल्पिक बाटोबाट गएको बताए। उनी आफैले विद्यालयबाट कुनै सिफारिस नलिई माथिल्लो निकायसँगको समन्वयमा सरुवा गराएर गएको स्वीकार गरेका छन्।

शिक्षा शाखा र सरुवा भएर गएका शिक्षकको भनाईले पनि सरुवा प्रकृयामा राजनीतिक र आर्थिक चलखेल भएको प्रस्ट देखिन्छ । सिरहामा शिक्षक सरुवा गराएर जाँदा पनि र आउँदा पनि आर्थिक लेनदन गर्नुपर्नेबाध्यता रहेको शिक्षकहरु नै स्वीकार गर्छन्।