क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूतवासका कार्यवाहक राजदूत मुदीता बज्रचार्यको प्रमुख आतिथ्यमा किरात याक्थुङ चुम्लुङ मलेसियाले ‘चासोक तङ्नाम साँझ -२०८१’ क्वालालम्पुर स्थित एक हलमा २९ डिसेम्बर, आईतवार साँझ भब्यताका साथ सम्पन्न गर्यो ।
मलेसियामा स्थापना भएका अन्य जातिय संस्था, सामाजिक संस्था, ब्यवसायिक संस्था, राजनीतिक संस्था लगायतका संघ-संस्थाहरुको प्रतिनिधि उपस्थित कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकार एवं फक्ताङलुङ आईडल समेत रहिसकेकी चर्चित गायिका तिर्सना नेम्बाङको गायिकी र मलेसियामै रोजगाररत कलाकारहरुबाट मौलिक कला धान नाच, च्याब्रुङ नाच जस्ता प्रस्तुतिले चासोक तङ्नाम साँझलाई याक्थुङ सांस्कृतिमय बनाएको थियो । त्यसमाथि लिम्बूजन्य परिकारले चासोक तङ्नामको खास महत्वलाई उजागर गरेको थियो ।
किरात याक्थुङ चुम्लुङ मलेसियाले आयोजना गरेको चासोक तङ्नाम साँझलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएकी नेपाली राजदूतवासका कार्यवाहक राजदूत मुदीता बज्रचार्य लगायत एनआरएन महिला उपाध्यक्ष लीजा मगर, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष विपिन राईले मन्तब्य मार्फत शुभकामना दिनु भएको थियो ।
आयोजकको निमन्त्रणा स्विकार गरि प्रमुख आतिथ्यता ग्रहण गरिदिनुका साथै मलेसियामा रोजगार नेपाली नागरिकहरुको लागि अभिभाविक भूमिका निर्वाह गरिदिनु भएकोमा नेपाली राजदूतवासका लागि कार्यवाहक राजदूत मुदीता बज्रचार्य र जातिय मौलिक कला संस्कृति जगेर्ना तथा प्रवर्द्धनमा गायनकला मार्फत महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा गायिका तिर्सना नेम्बाङलाई किरात याक्थुुङ चुम्लुङ मलेसियाको तर्फबाट अध्यक्ष दील कुमार केरुङ र सल्लाहकार ईन्द्र लुम्फुवा लिम्बूले दोसल्ला ओढाएर सम्मान गर्नुका साथै मायाको चिनो पनि प्रदान गर्नु भयो ।
चुम्लुङका अध्यक्ष दील कुमार केरुङको सभापतित्वमा सम्पन्न ‘चासोक तङ्नाम साँझ -२०८१’को संञ्चालन निमेष मादेन लिम्बूले गर्नु भएको थियो ।
किरात याक्थुङ चुम्लुङ मलेसियाले नेपालीहरुको महान चाड बडादशै तथा दिपावलीको अवसरमा आयोजना गरेको भाग्यशाली उपहार धमाका २०२४ को नतिजा पनि यसै कार्यक्रम मार्फत सार्वजानिक गरेको छ ।