अशोक पहाडी
रौतहट,१७ पुष । रौतहटको पर्यटकीय स्थल नुनथर आज दिनभर भरिभराउ रह्यो । अङ्ग्रेजी नयाँ वर्ष मनाउनका लागि आएकाहरूले नुनथर क्षेत्र भरिभराउ भएको थियो ।
अङ्ग्रेजी नयाँ वर्ष मनाउन आउनेहरूका कारण रौतहटको ननथर मात्र नभएर अन्य पर्यटकीय क्षेत्र समेत भरिभराउ भएका थिए ।
रौतहट ,सिन्धुली ,मकवानपुर जिल्लाको संगमस्थलका रूपमा रहेको नुनथर क्षेत्रमा पिकनिक मनाउन आउनेहरूले भरिभराउ भएको थियो । अंग्रेजी नयाँ वर्ष मनाउनका लागि मधेस प्रदेशका अलावा भारतको बिहार राज्यका विभिन्न स्थानबाट समेत नुनथरमा पर्यटकहरु आएका थिए ।
बागमतीको बगरमा अवस्थित नुनथर क्षेत्रमा नयाँ वर्षका दिन आज रमाउन आउनेहरूको खचाखच भिड नै लागेको स्थानीय बासिन्दा शुभकामना पौडेलले बताएका छन् ।
चन्द्रपुर नगरपालिका वडा नम्बर १ मा पर्ने नुनथर क्षेत्रमा मान्छेहरु नअटाएका कारण बागमतीको बगरमै कयौले पिकनिक खाएर फर्किएको स्थानीय बासिन्दा पौडेलको कथन छ ।
अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरेर चन्द्रपुर नगरपालिकाले नुनथर क्षेत्रमा जाने बाटोलाई चौडा बनाउने काम गरेको थियो ।
वाह्य तथा स्थानीय पर्यटकहरूलाई मध्यनजर गर्दै चन्द्रपुर नगरपालिकाले नुनथर क्षेत्रमा जाने बाटोलाई चौडा बनाउने काम गरेको चन्द्रपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बलराम राउतले बताए ।
समथल तराईको भूभागभन्दा एक किलोमिटर मासतिर पहाडको फेदीमा रहेको नुनथरमा रमाउनका लागि मधेस प्रदेशका लगभग सबै जिल्लाका पर्यटकहरु अंग्रेजी नयाँ वर्ष मनाउन आइपुगेको नुनथर क्षेत्र विकास समितिका कोषाध्यक्ष गोपाल घिमिरेको भनाइ रहेको छ ।
पछिल्लो समय नुनथर क्षेत्रमा रमाइलो गर्नका लागि भारतको बिहार राज्यका विभिन्न स्थानबाट पर्यटकहरु आउन थालेको घिमिरेले बताएका छन् ।
नुनथर क्षेत्रमा पछिल्लो समय मधेस प्रदेशका अलावा देशका विभिन्न स्थान र भारतको बिहारका विभिन्न स्थानबाट पर्यटकहरु आउन थालेपछि त्यहाँ चन्द्रपुर नगरपालिकाले समेत आफ्नो लगानी बढाएको चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले बताए ।
रौतहट जिल्ला मात्र नभएर मधेस प्रदेशकै चर्चित पर्यटकीय स्थल नुन्थरको विकासका लागि चन्द्रपुर नगरपालिकाले सक्दो सहयोग गरिरहेको र आगामी दिनमा ठूलो लगानी गर्ने नगर प्रमुख काफ्लेको भनाइ रहेको छ ।
मधेस प्रदेशका आन्तरिक पर्यटक र भारतको बिहारका पर्यटकहरूका लागि पछिल्लो समय रौतहटको नुनथर क्षेत्र निकै रुचाइएको पाइएको नुनथर क्षेत्र विकास समितिका सदस्य समिर बाबु कार्कीले बताए ।
रौतहटको चन्द्रपुर नगरपालिकामा रहेका अरु पर्यटकीय स्थल डाबरी पार्क ,धामी पार्कमा समेत स्थानीय पर्यटकहरूले खचाखच भरिएको थियो ।
रौतहटको चन्द्रपुर नगरपालिकामा रहेका पर्यटकीय स्थलहरूको उचित प्रचारप्रसार र व्यवस्थापन गर्न सकेको खण्डमा यहाँ भारतीय पर्यटकहरूलाई ल्याउन सकिने भन्दै त्यसतर्फ लाग्नका लागि स्थानीय बासिन्दाले चन्द्रपुर नगरपालिकासँग अनुरोध गरेका छन् ।
अङ्ग्रेजी नयाँ वर्षका दिन आज नुनथर क्षेत्र मा देखिएको भिडले यहाँको पर्यटनको सम्भावनालाई दर्शाएको बताउँदै स्थानीय बासिन्दा लक्ष्मण न्यौपानेले यसतर्फ संघ सरकार र प्रदेश सरकारले समेत ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।