कांग्रेस एमालेको सरकार बने पछि कुनै स्क्यान्डल सुन्नु परेको छैनः उपप्रधानमन्त्री सिंह

everest kitchen

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले झाराटारा गरेर पार्टी नचल्ने बताएका छन ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ले  बिहिबार सय दिने अभियान अन्तर्गत आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका आन्तरिक गतिविधि झाराटारा किसिमले गरेर नहुने उनले बताएका हुन ।

पार्टीको संगठनलाई कागजी रुपमा मात्रै सीमित गर्न नहुने भन्दै उपप्रधान तथा सहरी बिकास मन्त्रीसमेत रहेका सिंहले पार्टीलाई बलियो ढंगले अघि बढाउन सबै लाग्नुपर्नेमा जोड दिए । पार्टीभित्र असल संस्कार स्थापित गर्नुपर्ने भन्दै उनले अस्वस्थ संस्कारले कसैलाई फाइदा नगर्ने स्मरण गराएका छन् ।

कांग्रेस पूर्वमहामन्त्री सिंहले कागजमा मात्र सदस्य सँख्या भएर नहुने भन्दै उनले पार्टीका कार्यक्रमहरूमा सहभागिता बढाउनुपर्ने जोड दिन निर्देशन दिएका छन् । ‘पार्टी केन्द्रले भन्यो, जिल्लाले सर्कुलर गर्यो, गर्नुपर्ने भएको हुनाले कार्यक्रम गरेको भनेर भएन, झारा टारेर, आलटाल गरेर पार्टी चल्नेवाला छैन ।सिरियस्ली लाग्नुपर्यो हामीसबै,’ उनले भने । मुलुकको स्थायीत्व र बिकासको नेतृत्व कांग्रेसले गर्नुपर्ने र त्यसका लागि पार्टीलाई व्यवस्थित राख्नुपर्नेमा सिंहले जोड दिए ।

ठूला दल मिलेर सरकार बनाएको प्रति नकारात्मक टिकाटिप्पणी हुने गरेको भन्दै सिंहले जनताको राजनीतिक स्थायीत्व र स्थीरताको चाहनाअनुसार नै  ठूला दल मिल्नुपरेको धारणा राखेका छन । ‘पहिला सरकार बनेको केही हप्ता, महिनामा स्क्याण्डलहरू आउँथ्यो । राजनीति स्थीरता दिन्छौं भनेर बनेको कांग्रेस( एमालेको सरकार बनेपछि तपाईहरूले के त्यस्तो स्क्याम सुन्नुभएको छ ?’ उपप्रधानमन्त्री सिंहले भने ।

त्यस्तै, सरकार विधिको शासनमा प्रतिवद्द रहेको भन्दै बद्मासी गर्नेमाथि विधि अनुसारनै अनुसन्धान र कारवाहीको प्रक्रिया अघि बढ्ने र अन्तिम फैसला सर्वोच्च अदालतले गर्ने सिंहले बताए ।

सिंहले बिभिन्न आन्दोलनबाट प्राप्त अधिकारलाई सुरक्षित राख्दै मुलुकलाई आर्थिक लगायतका बिकासतर्फ अघि बढ्नुपर्ने पनि बताए । कार्यक्रममा कांग्रेसको सय दिने अभियानमा काठमाडौं प्रतिनिधि रहनुभएका नेता कृष्ण सिटौलासमेतको उपस्थिति रहेको थियो ।