राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको संसदलाइ बल्ल दिइयो जानकारी

everest kitchen

वासिङटन डिसी, २३ पुस । अमेरिकामा गत महिना भएको राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको जितको औपचारिक घोषणा भएको छ ।

मतगणनापछि उपराष्ट्रपति कमला ह्यारिसले डोनाल्ड ट्रम्पलाई आज विजयी घोषणा गरेकी हुन् । ट्रम्पको जित नोभेम्बर ६ मा तय भएको थियो तर आज औपचारिक रूपमा घोषणा गरिएको हो ।

इलेक्टोरल कलेजको मतगणनाको परिणाम घोषणा अमेरिकी संसदको क्यापिटल हिलमा रहेको हाउस अफ रिप्रिजेन्टेटिभ्स र कांग्रेसका दुवै सदन सिनेटको संयुक्त सत्रमा भएको थियो। उपराष्ट्रपति कमला ह्यारिस सिनेटको अध्यक्ष भएकाले यो प्रक्रियाको अध्यक्षता गरेकी थिइन् । अमेरिकी संसदको प्रचलन अनुसार संसदमा राष्ट्रपति निर्वाचित भएको बारेमा औपचारिक जानकारी दिए पछि मात्र निर्वाचनले बल्ल पुर्णता पाउने र त्यसपछि मात्र भावी राष्ट्रपतिलाइ संसदले पहिचान गर्नेछ ।

विजयको औपचारिक घोषणापछि ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कांग्रेस (अमेरिकी संसद) ले आज हाम्रो चुनाव जीत प्रमाणित गर्यो। यो इतिहासमा ठूलो क्षण हो ।’

अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन भएको थियो । यसमा ट्रम्प विजयी भएको यसअघि नै घोषणा भइसकेको छ । ट्रम्पले ३१२ इलेक्टोरल भोट पाएर यो बिजय हासिल गरेका थिए । उनका प्रतिद्वन्द्वी कमलाले २२६ इलेक्टोरल भोटमा सिमित हुनु परेको थियो । चुनाव जित्नका लागि उम्मेदवारलाई २७० इलेक्टोरल भोट चाहिन्छ।

ट्रम्पले अब १३ दिन पछि अर्थात २० जनवरीमा राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ लिनेछन् । क्यापिटल हिल वरिपरि तारबार लगाइएको छ र यो महिनाको अन्त्यमा हुने संयुक्त बैठक र ट्रम्पको सपथ ग्रहण समारोहको लागि भारी सुरक्षा परिचालन गरि सकिएको छ।