क्वालालम्पुर, १९ जनवरी, नेपाल सरकारका संघीय मन्त्रालयका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यमा थारु कल्याणकारी सभा मलेसियाले “९औं वार्षिक उत्सव तथा माघी संक्रान्ति कार्यक्रम – २०२५” भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रममा मलेसियाका लागि नव नियुक्त राजदूत डा. नेत्र प्रसाद तिमिल्सिना विशेष अतिथिका रूपमा उपस्थित थिए। नेपाली आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष विपिन राई, प्रवासी नेपाली मञ्चका अध्यक्ष दयाराम कुमाल, ने.का. जनसम्पर्क समिति सभापति चोलाकान्त पंगेनी, पिएनसिसि संयोजक पूर्ण लिम्बू, कि.या.चु. अध्यक्ष दील कुमार केरुङ, नेपाल तामाङ घेदुङ अध्यक्ष बिक्रम तामाङ, तमु समाज अध्यक्ष समीर तमु, किरात राई यायोख्खा अध्यक्ष डम्बर राई, नेपाल मगर संघका प्रतिनिधि र पत्रकारहरूले माघीको शुभकामना दिएका थिए।
शुभकामना आदान-प्रदानका क्रममा केही वक्ताहरूले नेपाली राजदूतावासको सेवा प्रवाह, पूर्व राजदूतहरूको कार्यक्षमता, र कर्मचारीप्रति टिप्पणी गरे। त्यसपछि नव नियुक्त राजदूत डा. तिमिल्सिनाले आफू मलेसिया नआउँदै आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आश्चर्य व्यक्त गर्दै केही अनलाइनमा प्रकाशित समाचार कलुषित मनसायबाट आएको शंका व्यक्त गरे। उनले दूतावासले सीमित स्रोत र साधनबाट उच्च चापमा सेवा प्रदान गरिरहेको बताए। साथै, दूतावास सेवा प्रवाहमा कुनै सम्झौता नगरी निस्वार्थ कार्य गर्न प्रतिवद्ध रहेको उल्लेख गर्दै सामाजिक र संस्थागत सहकार्यका लागि आफू तत्पर रहेको बताए।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री चौधरीले नेपाल बहुजातीय, बहुभाषिक, र बहुसांस्कृतिक राष्ट्र भएको स्मरण गराउँदै, विदेशमा आफ्नो कला, संस्कृति, र परम्पराको संरक्षण र प्रवर्द्धनमा लागिपरेकोमा आयोजक संस्थालाई धन्यवाद दिए। साथै, मलेसियामा जारी यू-१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र बंगलादेशबीचको खेल अवलोकन गर्न पाएको विषय पनि उठाउँदै, खेलाडीहरूलाई उत्साह दिन पाएकोमा गर्व लागेको बताए।
थारु कल्याणकारी सभाले सहयोगी संघ-संस्था, समाजसेवी, बुद्धिजीवी, र पत्रकारहरूलाई प्रशंसा पत्रसहित सम्मान गरेको थियो। साथै, थारु कलाकारहरूलाई पनि प्रमुख अतिथिबाट सम्मान गरियो। नव नियुक्त राजदूतको स्वागतका लागि विभिन्न संघ-संस्थाहरूलाई मञ्च उपलब्ध गराइएको थियो।
थारु परिकार र स्थानिय थारु कलाकारका साथै अन्य कलाकारहरूको सांस्कृतिक प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण थियो। कार्यक्रमको सभापतित्व ज्ञानचन्द्र चौधरीले गरेका थिए भने सञ्चालन आर.पी. चौधरीले गरेका थिए।