प्रहरी कुट्ने अनेरास्ववियुका पाँचै जनालाई धरौटीमा छाड्ने आदेश

everest kitchen

काठमाडौं । काठमाडौँको ठमेलमा प्रहरी कुट्ने सत्तारुढ दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थी नेताहरुलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ ।

न्यायाधीश हर्कबहादुर केसीको इजलासले सो प्रकरणमा पक्राउ परेका पाँचै जना विद्यार्थी नेताहरुलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

इजलासले पक्राउ परेका रमेश फुलारालाई १५ हजार तथा  कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर, दिनेश सिग्देललाई जनही १०-१० हजार धरौटीमा छाड्न आदेश दिएको हो ।

जोशी अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्व अध्यक्ष हुन् ।

उनीहरुले प्रहरी वृत्त, दरबारमार्गमा केशरमहल बिटबाट खटिएका प्रहरी हवल्दार जगुलाल घर्ती र जवान नगेन्द्रराज विष्टमाथि सांघातिक आक्रमण गरेका थिए ।

अनेरास्ववियूका नेताहरुको सांघातिक आक्रमणमा परी घाइते भएका प्रहरी हवल्दार घर्तीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भएको थियो । घर्तीको टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेको थियो । त्यस्तै, जवान विष्टको आँखामा र शरीरका अन्य भागमा सामान्य चोट लागेको थियो ।