विशाल बस्नेत
१३ फाल्गुन, महोत्तरी, महोत्तरीको बर्दिवास नगरपालिकाले मगर दिवस र माझी दिवसको अवसरमा नगरभरी सार्वजनिक विदा दिने भएको छ ।
नगर कार्यापालिकाको मंगलबार वसेको वैठकले १५ गते मगर दिवस र २० गते माझी दिवसको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । मगर र माझीहरुको भावनाको कदर गर्दै नगरले पहिलोपटक विदा दिने परम्पराको सुरुवात गरेको नगर प्रवक्ता विजय महतोले जानकारी दिए ।
नगरको यो निर्णयप्रती मगर र माझी समुदायले खुसी व्यक्त गरेका छन । जातिय स-अस्तित्वलाई नगरले आत्मासाथ गरेको भन्दै समुदायहरुले नगरको यो निर्णयले आफुहरुको आत्मसम्मान पाएको महसुस भएको प्रतिक्रिया दिए ।
पुर्व वडा अध्यक्ष फाल्गुन सुस्लिङ्ग मगरले बर्दिवासको पाठयक्रममा समावेश गरिएको त्रुटिलाई भने सच्याउन माग गरेका छन । `मगर दिवसमा विदा दिने विषयले खुसी लागेको छ तर बर्दिवास ज्ञानमालामा केही त्रुटि छ त्यसलाई भने सच्याईओस ।´ मगरले भने । `यस्लाई देशैभरीवाट सिक्न सक्नुपर्छ ।´
२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा पहिलो पटक स्थापना भएको दिनलाई मगर संघले स्थापना दिवसको रुपमा मनाउन थालेको हो ।
मगरहरुले स्थापना दिवसमा भेषभुषाको झाँकीसहित बृहत र्याली र परम्परागत सोरठी, कौडा, सालैजो, घाटु नाचसहित विभिन्न कार्यक्रम गर्दै आएका छन । आदिवासी जनजातिमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको २०७८ सालको जनगणनामा उल्लेख छ ।
यसअघि तन्हु जिल्लाका स्थानिय पालिकाहरुले पनि उक्त दिन सार्वजनिक विदा दिएका थिए ।
त्यस्तै माझी समुदायको प्रमुख चाड लदि पुजा हरेक बर्षको फाल्गुन -२० गते पर्दछ । यसैलाई बर्दिवास नगरपालिकाले महत्वपूर्ण दिवसकोरुपमा सार्वजनिक दिएको हो ।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालमा एक लाख ११ हजार ३५२ माझीहरूको जनसंख्या रहेको छ । तराईमा रहने माझीहरूले कुश्वार लेख्ने हुनाले यो संख्या अरू धेरै हुन सक्ने अनुमान गरिएको छ ।