भक्तपुर । भोलि शुक्रबारदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौँ महाधिवेशन भक्तपुरमा हुने भएको छ । महाधिवेशनको उदघाटन पार्टी अध्यक्ष नारायणमान विजुक्छें रोहितले गर्ने कार्यक्रम तय गरिएको छ ।
फागुन १६, १७, १८ र १९ गते हुने महाधिवेशनको उदघाटन फागुन १६ गते शुक्रबार दिउँंसो १ बजे सल्लाघारी भक्तपुरस्थित एक सय आठ रोपनीको खुल्ला चौरमा हुने जनाइएको छ । महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको नेमकिपाका केन्द्रीय सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले बताए । महाधिवेशनका लागि सातै प्रदेशबाट प्रतिनिधि पर्यवेक्षकहरु बिहीबार नै भक्तपुर पुगिसकेको उनले जनाए । आउने क्रम अझ जारी रहेको पार्टीले जनाएको छ ।
उदघाटन अघि काठमाडौं कोटेश्वर, भक्तपुरका विभिन्न पाँंच ठाउँंहरुबाट छुटाछुटै जलुश गरी सल्लाघारी उदघाटनस्थलमा पुग्ने जनाइएको छ । विहान १० बजे भेला भई बाजागाजाका साथ रयालीसहित उदघाटनस्थल सल्लाघारी भक्तपुरमा दिउँंसो १ बजे पुग्ने जनाइएको छ ।
महाधिवेशनको पूर्वसन्ध्यामा भक्तपुरका विभिन्न ठाउँंहरुमा सकुण्डा रयाली निकालिएको छ । पार्टी र पार्टी निकटका जनवर्गीय संगठनहरुले छुटाछुटै रुपमा टोलटोलमा महाधिवेशनको प्रचारप्रसारका लागि रयाली निकालेका हुन् ।
पार्टीको स्थापना विक्रम संवत् २०३१ साल माघ १० गते भएको थियो । पार्टीको पहिलो महाधिवेशन २०४७ सालमा रुपन्देही जिल्लाको भैरहवामा सम्पन्न भएको थियो ।
सातौँ महाधिवेशनसम्ममा पार्टी संस्थापक अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)लाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ । यसअघिको सातौँ महाधविशेनले बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । २३ केन्द्रीय र २ जना वैकल्पिक केन्द्रीय सदस्य थिए ।
सातौँ महाधिवेशनबाट निर्वाचित अन्य सदस्यहरूमा कार्यसमितिमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही थिए । त्यसैगरी सनकमान महर्जन, नन्दबहादुर शाही, बजिर सीँ विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर सदस्यमा निर्वाचित भएका थिए । कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सृजना सायजू, सरोजकुमार साह र वैकल्पिक केन्द्रीय सदस्यमा कृष्णबहादुर तामाङ र मुक्ति यादव निर्वाचित भएका थिए । निर्वाचित कार्यसमितिबाट प्रेम सुवाललाई सचिव र मोहनप्रसाद प्रजापतिलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको थियो ।
पार्टीको अध्यक्षमा लगातार नारायणमान बिजुक्छेँ रही आएका छन् । ८५ वर्षका बिजुक्छे नेतृत्वको पार्टीमा आठौँ महाधिवेशनबाट पनि अध्यक्षमा नै चुनिने सङ्केत नेताहरूले गर्दै आएका छन् ।
पार्टीको स्थापना २०३१ माघ १० मा भएको थियो । त्यसपछि प्रथम सम्मेलन २०४७ पौष २८,२९ र ३० भैरहवामा, दोस्रो सम्मेलन २०५१ असोज ३ र ४ भक्तपुरमा, तेस्रो सम्मेलन २०५५ माघ १२,१४ र १५ भक्तपुरमा, चौथो महाधिवेशन २०६० भदौ ११, १२ र १३ भक्तपुरमा, पाँचौँ महाधिवेशन २०६५ भदौ ६,७ र ८ काठमाडौँमा, छैटौँ महाधिवेशन २०७० चैत २१,२२,२३ र २४ काठमाडौँमा, सातौँ महाधिवेशन २०७६ असोज ३,४ र ५ भक्तपुरमा भएको थियो । आठौँ महाधिवेशन २०८१ फागुन १६, १७, १८ र १९ भक्तपुर हुने भएको हो ।