समिर भट्टको दोस्रो चलचित्र ‘बलिदान’ फूलपातीमा रिलिज हुने सन्तोष सेनको घोषणा

everest kitchen

काठमाडौं, १६ फागुन । अभिनेता समिर भट्टको मुख्य भूमिका रहेको ‘बलिदान’ फूलपातीमा रिलिज हुने निर्माण सन्तोष सेनले घोषणा गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमा चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गर्दै उनले रिलिज डेट घोषणा गरेका हुन् ।

‘हाल बलिदानुको सम्पूर्ण प्रोडक्सन कार्य सम्पन्न भइसकेको छ, र हामी पोस्ट प्रोडक्सन प्रक्रियामा प्रवेश गरेका छौँ । चलचित्रलाई अझ उत्कृष्ट बनाउन दक्षिण भारतीय फिल्म उद्योगका प्रविधि र सीपको उपयोग गर्दैछौँ, जसका कारण रिलिजमा केही समय लाग्ने देखिएको छ । दशैँको आसपास चलचित्रको सम्पूर्ण काम पूरा हुनेछ,’ सेनले लेखेका छन्, ‘दशैँको फूलपातीका दिन कालीमातालाई यो जगतलाई दुःख दिने दानवरुपीको नाममा बली चढाउने परम्परा रहिआएको छ । संयोगवश, बलिदानको कथामा कालीमाताका अगाडि दानवी प्रवृत्तिका शोषकहरूको बलि दिने भावना समेटिएको छ । यही सन्दर्भलाई आत्मसात् गर्दै, ुबलिदानु २०८२ सालको फूलपाती (असोज १३) मा रिलिज गर्ने निर्णय गरेका छौँ ।’

गत वर्षको फूलपातीमा समिर अभिनित ‘१२ गाउँ’ प्रदर्शनमा आएको थियो । जुन उनको पहिलो चलचित्र थियो । चलचित्रले करिब २५ करोडको व्यापार गरेको निर्माता, निर्देशक र अभिनेतासमेत रहेका विराज भट्टले बताएका छन् । त्यसबेला ‘१२ गाउँ’ दीपकराज गिरीको ‘छक्का पञ्जा ५’ सँग जुधेको थियो ।

‘बलिदान’ पनि अशोक शर्माको ‘डबल ट्रिपल’ सँग जुध्ने भएको छ । ‘डबल ट्रिपल’ मा दयाहाङ राई, केकी अधिकारी, मेरुना मगरलगायतको मुख्य भूमिका छ ।