आईपीएलका संस्थापक ललित मोदी भारतीय नागरिकता त्याग गर्दै

everest kitchen

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) का संस्थापक ललित मोदीले आफ्नो भारतीय नागरिकता त्यागेको निवेदन दिएका छन् ।

मोदीले लन्डनस्थित भारतीय उच्चायोगमा आफ्नो राहदानी बुझाउदै भारतको नागरिकता त्यागेको आवेदन दिएको  भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवाललाई उदृत गर्दै भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

ललित मोदीले भानुआटुको नागरिकता प्राप्त गरेपछि भारतीय नागरिकता त्याग्न लागेको बताइएको छ ।

ललित मोदीका वकिल महमूद अब्दीले पनि यसको पुष्टि गर्दै उनले दक्षिण प्रशान्त टापु राष्ट्र भानुआटुको नागरिकता लिएको बताएको मिडिया रिपोर्टमा उल्लेख छ । वकिल अब्दीले मोदीविरुद्ध भारतीय एजेन्सीले भारतको कुनै पनि अदालतमा कुनै उजुरी वा आरोपपत्र दायर नगरेको दाबि गरेका छन् ।

२००८ मा आइपिएलको स्थापना गरेका ललित मोदीलाई अनियमितता गरेको आरोप लागेपछि २०१० मा भारत छोड्न बाध्य पारिएको थियो ।  आफूविरुद्ध धरपकड हुनसक्ने संकेत पाएपछि मोदीले २०१० को आइपिएल फाइनलपछि तुरुन्त भारत छोडेर लन्डन पुगेका थिए ।

उनलाई अहिले विश्वको सबैभन्दा लोकप्रिय टी-२० लिग आइपिएल जन्माएको श्रेय जान्छ ।