काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० दिने युद्धविरामको लागि अमेरिकी प्रस्तावमा सैद्धान्तिक रूपमा सहमत भएको बताएका छन् ।
तर दिगो शान्तिको बाटो प्रशस्त गर्नको लागि यसको ढाँचा तय गर्नुपर्ने शर्त राखेका छन् । उनले युक्रेनसँगको सम्झौतामा यति धेरै ध्यान दिएकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासको प्रशंसा गरेका थिए । यसका साथै उनले यो युद्ध रोक्न भारत, चीन, ब्राजिल र दक्षिण अफ्रिकाका नेताहरूप्रति कृतज्ञता पनि व्यक्त गरेका थिए ।
पुटिनले पत्रकार सम्मेलनमा भने, ‘३० दिने युद्धविरामको विचार आफैंमा सही छ र हामी यसलाई निश्चित रूपमा समर्थन गर्छौं । तर त्यहाँ छलफल गर्नुपर्ने मुद्दाहरू छन् ।’
उनले युद्धविरामको सम्भावित उल्लङ्घन नियन्त्रण गर्न संयन्त्र विकास गर्नुपर्नेमा जोड दिए । उनले भने- ‘हामी लडाईं रोक्ने प्रस्तावहरूसँग सहमत छौं तर युद्धविरामले दिगो शान्ति ल्याउनु पर्छ र संकटको मूल कारणहरूलाई सम्बोधन गर्नुपर्छ भन्ने विश्वासका साथ अगाडि बढ्नेछौं ।’
वर्तमान युद्धभूमिको अवस्थाका कारण युक्रेनले युद्धविराम चाहेको पुटिनको विश्वास छ । उनले रुसको कुर्स्क क्षेत्रमा प्रवेश गरेको युक्रेनी सेनालाई केही दिनभित्रै पूर्ण रूपमा घेरा हाल्ने दाबी गरे । उनले भने, ‘यस परिस्थितिमा, कम्तिमा ३० दिनको लागि युद्धविराम भएमा युक्रेनको लागि फाइदाजनक हुनेछ । यद्यपि, उनले कुर्स्कमा फसेका सिपाहीहरू लडाई नगरी फर्कन सक्षम हुन्छन् त ? भन्दै प्रश्न उठाएका छन् ।
यसका साथै रुसले युद्धविरामको अनुगमन गर्न नेटो देशहरूबाट कुनै पनि शान्ति सेनालाई स्वीकार नगरिने कुरा पनि स्पष्ट पारेको छ ।