काठमाडौं – देशका विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ।
दाङ, घोराही उपमहानगरपालिका-६ घर भई सोही उपमहानगरपालिका-१३ डुम्मरगाउँ डेरा गरी बस्ने ३२ वर्षीय गगन घर्ती मगरको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ।
सोही उपमहानगरपालिका-६ स्थित बबई नदीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो।
मकवानपुर, मनहरी गाउँपालिका-६ नयाँबस्ती बस्ने ३१ वर्षीय इन्द्रलाल मोक्तानको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ।
आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।
बर्दिया, मधुवन नगरपालिका-४ ढोढरी बस्ने ५४ वर्षीया असरानी थारूको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको छ।
आफ्नै गोठमा रहेको विद्युतको नाङ्गो तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि जिल्ला अस्पताल गुलरियातर्फ लैजानै क्रममा बाटोमै मृत्यु भएको हो।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।