काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको खबरले आफूलाई पीडा भएको बताउँदै उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।
दिवङ्गत श्रष्टाप्रति सामाजिक सञ्जाल फेसबुकबाट श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त उनका परिवारजन, आफन्त, साहित्यानुरागी दाजुभाइ एवं दिदीबहिनीमा गहिरो समवेदना व्यक्त गरेका हुन्।
प्रधानमन्त्री ओलीले लेखेका छन्-
लबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यासले कुनै समय क्यम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुन्थ्यो । उहाँका ‘बसाइँ” र अन्य उपन्यासले दोस्रो विश्वयुद्धताका नेपालबाट सिङ्गै गाउँहरू नै सिक्किम, असम, मेघालय र भुटानतिर बसाइँ सर्न बाध्य भएको पीडाको वर्णन गर्छन् । भारतको प्रतिष्ठित ‘साहित्य अकादमी पुस्कार’बाट सम्मानित उहाँको ‘ब्रम्हपुत्रको छेउछाउ’ उपन्यासले पनि पूर्वाेत्तर भारतका नेपालीको संघर्षको कथा भन्छ । उनै ख्यातिप्राप्त साहित्यकार क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको खबरले पीडा भएको छ । दिवंगत लीलबहादुर क्षेत्रीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, साहित्यानुरागी दाजुभाइ–दिदीबहिनीमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
साहित्यकार क्षेत्रीको ९३ वर्षको उमेरमा गएराति आसामको राजधानी गुवाहाटीमा निधन भएको हो ।