रौतहट- रौतहटको पश्चिमी भेग मौलापुर नगरपालिकामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ। दुर्घटनामा श्रीमान् घाइते रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
बिहीबार राति मौलापुरबाट गम्हरिया गाउँतर्फ गइगरेको प्रदेश २-०३-००१ त ३५२४ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आइरहेको ना६०प ३४३८ नम्बरको मोटरसाइकललाई मौलापुर-३ नौलाखा गेटनजिकै ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते मोटरसाइकलमा पछाडि सवार ४५ वर्षिय सीतादेवी साह कानुको उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता तथा डिएसपी दिपककुमार रायले बताए।
ठक्करबाट मृतक महिलाको श्रीमान् लखिन्दर साह कानु घाइते भएको प्रहरीले जनाएको छ।
ट्याक्टरका चालक फरार भएपछि ट्याक्टर र साहु रामईश्वर साहलाई इलाका प्रहरी कार्यालय मौलापुरले नियन्त्रणमा लिएको छ।
मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको तथा घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।