मलेसियाको अनलाइन जुवा अड्डामा छापा, नेपाली सहित थुप्रै विदेशीहरु पक्राउ

everest kitchen

काजाङ । मलेसियाको अध्यागमन विभागले सञ्चालन गरेको छापा अपरेशनको क्रममा काजाङ बस टर्मिनलमा सञ्चालित अवैध अनलाइन जुवाको अड्डा फेला परेको छ।

विभागका उपमहानिर्देशक (अपरेशन) जाफ्री एमबोक ताहा अनुसार, अपरेशनका क्रममा उक्त क्षेत्रमा रहेको एक भवनमा जुवा गतिविधिहरू भइरहेको फेला परेको हो।

“प्रारम्भिक जाँचबाट अनलाइन जुवासम्बन्धी गतिविधि भएको देखिएको छ। तर, उक्त स्थानमा अवैध रूपमा विदेशी श्रमिकहरूलाई रोजगारी दिएको छ कि छैन भन्ने विषयमा थप अनुसन्धान गरिनेछ, र सोही अनुसार कारबाही हुनेछ,” उनले अपरेशनपछि सञ्चारकर्मीलाई बताए।

बिहीबार साँझ ७ः३० बजे सुरु भएको अपरेशनको क्रममा १ हजार ३५ व्यक्तिको जाँच गरिएको थियो, जसमा ७ सय ८५ जना विदेशी र २ सय ५० जना मलेसियाली नागरिक थिए।

जाँच गरिएका विदेशीमध्ये २ सय ८८ जनालाई विभिन्न अध्यागमनसम्बन्धी अपराधको आधारमा पक्राउ गरिएको छ।

पक्राउ परेकाहरूमा २ सय ४२ पुरुष र ४६ महिला छन्, जसको उमेर १८ देखि ६० वर्षसम्मको रहेको छ।

उनीहरू बंगलादेश, इन्डोनेसिया, म्यान्मार, पाकिस्तान, नेपाल, भारत, श्रीलंका र सुडानका रहेका छन् ।

जाफ्रीका अनुसार केही विदेशीहरू पक्राउबाट बच्न व्यवसायिक भवन, शौचालय र छानाको भित्री भागमा लुकेका थिए।

उनले बताए अनुसार उक्त स्थानमा यसअघि पनि छापा मारिएको थियो, र आगामी दिनहरूमा त्यहाँ थप अपरेशनहरू गरिनेछन् ताकि क्षेत्रलाई अवैध आप्रवासी र अवैध गतिविधिबाट मुक्त गर्न सकियोस्।

“विदेशीहरूले मलेसियाको कानुनको पालना गरुन् भन्ने सुनिश्चित गर्न यस्ता अपरेशनहरू निरन्तर सञ्चालन गरिनेछन्।

“कारबाहीमा रोजगारदाताहरू पनि फोकसमा रहनेछन्,” उनले भने।

“हामी सबै रोजगारदाताहरू र जनतामा सचेत गराउन चाहन्छौं कि कुनै पनि अवैध आप्रवासीलाई व्यवसाय स्थल वा निजी सम्पत्तिमा आश्रय, रोजगारी वा बस्न अनुमति नदिनुहोस्।”

जाफ्रीले थपे, यदि उल्लंघन देखियो भने दोषीहरूमाथि अध्यागमन ऐन १९५९र६३ र मानव बेचबिखन तथा आप्रवासी तस्करी विरुद्धको ऐन २००७ अन्तर्गत कारबाही गरिनेछ।