क्वालालम्पुर । मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (केएलआइए) मा ‘काउन्टर सेटिङ’ घूसकाण्डमा संलग्न रहेको आरोपमा ३ अध्यागमन अधिकारी पक्राउ परेको न्यू स्ट्रेट्स टाइम्सले जनाएको छ ।
उनीहरूमाथि आरएम १० मिलियन (करिब ३८ करोड नेपाली रुपैयाँ) भन्दा बढी घूस लिएको आरोप लागेको छ। अनुसन्धान अनुसार, ती अधिकारीहरूले विदेशी नागरिकहरूलाई मलेसिया प्रवेश गर्न सहज बनाउने उद्देश्यले विमानस्थलको आप्रवासन काउन्टरमा विशेष सेटिङ मिलाउने सर्तमा ठूलो रकम घूस लिएका थिए।
मलेसियाली भ्रष्टाचार विरोधी आयोग (एमएसीसी) ले यो गिरोहको गतिविधिबारे सूचना पाएपछि छानबिन सुरु गरेको थियो र पछिल्लो दिनहरूमा ती तीन अधिकारीलाई पक्राउ गरिएको पुष्टि गरेको छ।
अधिकारीहरूले भिसा समस्या भएका र अवैधानिक रूपमा प्रवेश गर्न खोज्ने व्यक्तिहरूलाई सहायता गर्ने सर्तमा प्रतिव्यक्ति हजारौँ रिङ्गिट घूस लिने गरेको खुलासा भएको छ।
एमएसीसीले अनुसन्धान अझै जारी रहेको जनाएको छ र अन्य संलग्न व्यक्तिहरूको पनि खोजी भइरहेको बताइएको छ।
यो घटनाले मलेसियाको आप्रवासन प्रणालीमा रहेको भ्रष्टाचार र कमजोरीप्रति गम्भीर प्रश्न उठाएको छ।