अप्रिल १६ सम्म मलेसियाभर छापा र अनुगमनका क्रममा १३ हजार ६ सय ७७ अवैध कामदार पक्राउ

everest kitchen

क्वालालम्पुर । मलेसियाभर अप्रिल १६ सम्म गरिएको छापा र अनुगमनका क्रममा आप्रवासन विभागले कूल १३ हजार ६ सय ७७ अवैध आप्रवासीलाई नियन्त्रणमा लिएको छ।

आप्रवासन विभागका महानिर्देशक डातुक जकारिया शाबानका अनुसार, यो पक्राउ ५२ हजार ३ सय १८ जनालाई सोधपुछ गरी गरिएको अनुसन्धानको परिणाम हो।

यसैबीच, अन्य निकायहरूले नियन्त्रणमा लिएका ८ हजार ८ सय ९ अवैध आप्रवासीहरूलाई आप्रवासन विभागलाई हस्तान्तरण गरिएको छ। यससँगै अप्रिल १६ सम्म कुल २२ हजार ४ सय ८६ जना अवैध आप्रवासी पक्राउ परेका छन्।

हिजो राति मेडान इम्बी क्षेत्रमा गरिएको आकस्मिक छापामा थप ५ सय ६ जना विदेशीहरू पक्राउ परेका छन्। पक्राउ परेकामध्ये ४ सय ४८ जना पुरुष हरेका छन्। जसमा सबैभन्दा धेरै बंगलादेश (१६५) र नेपाल (१२४) हरेका छन्।

त्यसैगरी, ४० जना इन्डोनेशियन र १८ जना नेपालीसहित ५८ जना महिला पनि पक्राउ परेका छन्।

छापा जालान बारत, जालान मेलाती र जालान खू टेइक ई क्षेत्रका चार तल्ला भएका छ वटा आवासीय ब्लकहरूमा लक्षित गरिएको थियो।

जकारियाले बताएअनुसार सो अभियानमा १ सय ८५ जना अधिकारीहरू परिचालित गरिएको थियो।

मेडान इम्बीमा गरिएको छापाको क्रममा कूल ८ सय ९५ जनालाई छानबिन गरिएको थियो, जसमा १ सय ४६ जना मलेसियनहरू पनि समावेश थिए।

प्रारम्भिक अनुसन्धानमा देखिएअनुसार अधिकांश पक्राउ परेकाहरूको वैध कागजात थिएन, भिसा म्याद सकिएको थियो, भिसाको सर्त उल्लंघन गरेका थिए, वा मलेसियन सरकारले मान्यता नदिएको अन्य मुलुकबाट जारी गरिएको UNHCR कार्डजस्ता कागजात प्रयोग गरिरहेका थिए।

तर जकारियाले बताएअनुसार हालसम्म झूटा कागजात प्रयोग गरेको पुष्टि भएको कोही भेटिएको छैन।

७ः३० बजे सुरू भएको उक्त छापाको क्रममा धेरै विदेशी कामदारहरू भाग्ने प्रयास गर्दा अफरातफरी मच्चिएको थियो।

धेरैले जुत्ता चप्पल त्यहीँ छोडेर नांगो खुट्टा भागेका थिए।

भाग्न खोज्नेहरूमा म्यानमारका र नेपालका एक पुरुष पनि थिए, जसलाई सामान्य पोशाकमा रहेका आप्रवासन अधिकारीहरूले पछ्याएका थिए।

भाग्ने क्रममा ती दुई लडेका थिए र सामान्य चोटपटक लागेको थियो। उनीहरूलाई दमकल तथा उद्धार विभागका कर्मचारीहरूले तत्काल उपचार गरेका थिए।

यस्तै, एक गर्भवती भारतीय महिलालाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल लैजानु परेको थियो।

दुई घण्टाभित्रै त्यहाँका पसल तथा बासस्थानहरू सुनसान बनेका थिए, अधिकांश मानिसहरू नियन्त्रणमा लिइएका वा छानबिन भइरहेका थिए।

जकारियाका अनुसार केही कोठाहरू अत्यधिक भिडभाड भएका थिए।
“एउटा कोठामा पाँच–छ जनासम्म थिए। यदि घरमा पाँचवटा कोठा छन् भने लगभग ३० जना बस्ने अवस्था थियो। कतिपय कोठा त अझै बढाएर थप मानिसहरू अटाउने बनाइएको देखियो,” उनले भने।

एक जना पक्राउ परेका व्यक्तिका अनुसार, सो क्षेत्रमा एउटा कोठाको मासिक भाडा आरएम ६०० छ, जुन चार जनाले बाँडेर तिर्ने गरेका छन्।

पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि बुकित जलिल आप्रवासन डिपोमा पठाइएको छ।

यो पहिलो पटक होइन, मेडान इम्बीमा फेब्रुअरी महिनामा पनि यस्तै छापा परिसकेको छ।

“हामी यो क्षेत्र र अन्य संवेदनशील क्षेत्रहरूमा निगरानी जारी राख्नेछौं। वर्षभर आकस्मिक छापा मारिनेछ, ताकि आप्रवासन कानूनको पालना सुनिश्चित गर्न सकियोस्,” जकारियाले भने।

उक्त अभियानमा ७ सय ४९ जना विदेशी र १ सय ४६ मलेसियनहरूको छानबिन गरिएको थियो।

अप्रिल १६ सम्म, आप्रवासन ऐन १९५९/६३ अन्तर्गत ४ सय ९१ जना रोजगारदाताहरू पनि पक्राउ परिसकेका छन्।

जकारियाले बताएअनुसार, आप्रवासीहरूमा अनुसन्धान पूरा भएपछि मात्र रोजगारदाताहरूलाई बोलाइनेछ।