काठमाडौंँ । मलेसियाको सेलाङ्गोर राज्यअन्तर्गत पर्ने क्लाङ नगर परिषद् (MPK) ले फूड स्टलहरूमा कार्यरत विदेशी कामदारहरूलाई प्रतिबन्ध लगाउने नियमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सीसीटीभी (CCTV) जडान गर्ने भएको छ।
नगर परिषद्का अनुसार, स्थानिय खाद्य व्यवसायहरूमा काम गर्न मलेसियाली नागरिकहरूलाई मात्र अनुमति छ, तर पछिल्लो समय यस्ता स्टलहरूमा नेपाली, बंगलादेशी, म्यानमार र इन्डोनेसियाली कामदारको संख्यामा वृद्धि हुँदै गएको देखिएको छ।
MPK का प्रमुखले बताए, “हामीले विभिन्न क्षेत्रका फूड स्टलहरूमा निगरानी राख्न सीसीटीभी जडान गर्दैछौँ। नियम उल्लंघन गर्ने व्यवसायहरूलाई जरिवाना वा इजाजतपत्र खारेजसम्म गर्न सकिन्छ।”
उनले विदेशी कामदारहरूको बढ्दो प्रयोगले स्थानिय रोजगार अवसरमा असर परेको भन्ने गुनासो आएको र फूड ह्यान्डलिङ्गको हकमा अनुमति प्राप्त नभएका व्यक्तिहरूबाट स्वास्थ्यमाथि जोखिम बढ्ने खतराका कारण यो नियम लागु गरिएको बताए ।
यो नियमले छोटो अवधिमा व्यवसायीहरूलाई असर पुर्याउन सक्छ, तर स्थानिय श्रमिकलाई रोजगारीको अवसर प्रदान हुने भएको छ। यद्यपि व्यवसायीहरूले मलेसियामा हाल कामदारहरुको अभावको रहेको कारण यो कदमप्रति केही असन्तुष्टि जनाएका छन् ।
क्लाङको यो कदमले विदेशी श्रमिकको प्रयोगमा कडाइ ल्याउने संकेत गरेको छ। तथा अन्य शहरहरू पनि यस्तै नियमनको तयारी रहेको छ। नेपालजस्ता देशबाट मलेसियामा पुगेका श्रमिकहरूलाई यसले प्रत्यक्ष असर पार्न सक्ने सम्भावना छ, त्यसैले दूतावास तथा सम्बन्धित निकायहरूले श्रमिकहरूको अवस्थाबारे निगरानी र सहजीकरण गर्न आवश्यक देखिएको छ।