काठमाडौंँ । ओमान सरकारले विदेशी कामदार र रोजगारदाताबीच कम्पनी परिवर्तन (जब ट्रान्सफर) प्रक्रिया सम्बन्धी नयाँ नियमहरू सार्वजनिक गरेको छ । यो प्रकियाले श्रम बजारलाई थप व्यवस्थित र पारदर्शी बनाउने लक्ष्य राखेको छ।
नयाँ नियम अनुसार कामदारले कम्पनी परिवर्तन गर्न पुरानो रोजगारदाताको सहमति अनिवार्य नलिनुपर्ने भएको छ । तर यसका लागि केही सर्तहरु राखिएका छन् । त्यस्तै करार अवधि सकिएपछि कामदारले नयाँ रोजगारदाता स्वतन्त्र रुपमा खोज्न पाउने भएका छन्, यद्यपि यसका लागि निश्चित कानुनी प्रक्रिया पुरा गर्नुपर्ने भएको छ।
कम्पनी परिवर्तनका लागि आवश्यक शर्तहरू सहित कामदारको निवर्तमान रोजगारदातासँग कुनैपनि किसिमको न्यायिक विवाद नरहेको हुनुपर्नेछ। साथै नयाँ रोजगारदाताले प्रमाणित मागपत्र पेश गर्नुपर्नेछ। र कामदारसँग वैध बसोबास अनुमति (रेसीडेन्सी पर्मिट) हुनुपर्नेछ।
कामदार स्थानान्तरण प्रक्रिया ओमानको श्रम मन्त्रालयको डिजिटल प्लेटफर्म मार्फत हुने र यसले पारदर्शिता र ट्र्याकिङ सुनिश्चित गर्ने जनाइएको छ।
नयाँ नियमले म्यानपावर एजेन्ट र विचौलियाको दखल कम गर्दै सरकारी निगरानीलाई प्राथमिकता दिएको छ।
यो नियमले नेपाली कामदार सहित अन्य विदेशी कामदारहरुलाई उचित कारण देखाई रोजगारी परिवर्तन गर्न सहजता हुने भएको छ । त्यस्तै श्रम शोषण भएका कामदारहरुले यो नियमका कारण राहत पाउने सम्भावना बढेको छ ।
ओमानको नयाँ श्रम नियमले विदेशी कामदारको अधिकार संरक्षण गर्न सकारात्मक संकेत दिएको छ। नेपाल सरकार र ओमानस्थित नेपाली दूतावासले यसबारे व्यापक जानकारी दिने, परामर्श केन्द्रहरू सशक्त बनाउने र श्रमिकलाई आवश्यक सहायता उपलब्ध गराउने कुरामा अब सक्रिय भूमिका खेल्नुपर्ने देखिएको छ।