क्वालालम्पुर । मलेसियामा सुरक्षा गार्डको रूपमा रोजगारी पाउन नेपालीहरु चर्को रकम तिर्न बाध्य भएका छन् । उनीहरुलाई आरएम १० हजार (करिब ३.५ लाख रुपैयाँ) सम्म तिर्न बाध्य पारिएको मलेसियाका श्रमिक अधिकारकर्मी एन्डी हलले आरोप लगाएका छन्।
उनका अनुसार, मलेसियन सुरक्षा गार्ड कम्पनी एजेन्टहरू, नेपाली म्यानपावर एजेन्ट र बिचौलियाहरूको मिलेमतोमा यस प्रकारको चर्को शूल्क असुल्ने कार्य भइरहेको छ। रोजगारीमा जान चाहने नेपालीहरूलाई अर्को हप्ता वा महिनाभित्र मलेसिया पठाउने वाचा गर्दै अवैध रुपमा अग्रिम शुल्क नेपालमै उसुल्ने कार्य भइरहेको हो।
“आर्थिक रुपमा कमजोर र संवेदनशील कामदारहरू स्वयंले नै सबै खर्च ब्यहोर्न बाध्य छन् – एजेन्ट शुल्क, हवाई टिकट, स्वास्थ्य परीक्षण, भिसा तथा बिमा शुल्कसमेत उनीहरूले तिर्नुपरेको छ,” हलले मलेसियन समाचार पोर्टल एफएमटी सँगको कुराकानीमा बताए।
हाल मलेसियाले नेपालीहरूलाई सुरक्षा गार्डको रूपमा नियुक्त गर्न अनुमति दिएको छ। तर, २०१८ मा नेपाल र मलेसिया सरकारबीच श्रमिक भर्ना सम्बन्धमा हस्ताक्षर भएको सम्झौता (एमओयु) अनुसार, यस्तो खर्च मलेसियन रोजगारदाताले ब्यहोर्नुपर्ने प्रावधान छ।
हलका अनुसार, विगतमा आरएम ३,८०० देखि ५,००० सम्म लाग्ने यो खर्च अहिले आरएम ८,००० देखि १०,००० पुगेको छ। यसले मलेसियामा वैदेशिक श्रमिक भर्ना प्रणाली पूर्ण रूपमा अनियन्त्रित भएको संकेत गर्छ।
“यसले नेपाली श्रमिकहरूलाई भारी ऋणमा पारेर आधुनिक दासत्वतर्फ धकेलिरहेको छ,” उनले भने।
त्यस्तै मलेसियामा कार्यरत नेपाली सुरक्षागार्डहरू श्रम शोषणको शिकार भइरहेको उनले बताए – अत्याधिक काम, न्यून पारिश्रमिक, राहदानी खोसिने, राजीनामा दिन नपाइने, दुर्व्यवहार हुने, र कमजोर बासस्थानको समस्या नेपालीहरुले भोगिरहेको हलको भनाइ छ ।
“श्रमिकहरूको अत्यधिक शोषण भइरहेको छ, र उनीहरूलाई सुरक्षित वातावरण दिन दुबै देशको सरकार, नेपाली दूतावास, सुरक्षा निकाय, र अन्तर्राष्ट्रिय समुदायको ध्यान जानु अत्यावश्यक रहेको छ,” उनले जोड दिए।
यसैबीच, एक नेपाली समाचार पोर्टलका अनुसार गत फेब्रुअरीमा नेपालले एमओयु नवीकरणको प्रस्ताव गरेको थियो तर मलेसियाले खास चासो नदेखाएको बताइएको छ। यसको कारण मलेसिया मेडिकल जाँचमा ‘सिण्डिकेट प्रणाली’ रहेको उल्लेख गरिएको छ।
अब, श्रमिक अधिकारकर्मीहरू र सरोकारवाला निकायहरूले तत्काल कडा कदम चाल्नुपर्ने माग गर्दै मलेसिया र नेपाल दुवै सरकारलाई जिम्मेवारी लिन हलले आह्वान गरेका छन्।