लघुकथा – नसोचिने पाटो
सुभद्रा पराजुली
“तिमी हाँस्छेउ मात्र । मेरा कुनै प्रश्नको उत्तर छैन यारिलि तिमीसँग ? वर्षौं भयो त काली तिम्रो र मेरो परिचय साटासाट भएको ! आफ्नो बारेमा पनि केहि त भन न, प्लिज । अरू गफ त चटपटे जस्तै तिख्खर गर्छौ त ,अनि प्रेमको कुरा निकाल्यो कि सति सावित्रि भैदिने ! मुस्कुराई मात्र रहन्छेउ , चुपचाप । हद नगर न यार ! “आज पनि मायालु तर घुर्कि लगाउने पाराले भन्यो यारिलिलाई , रजरले !
” हया ! अरू कुनै गफ छैन ? केटा र केटी बीच खाली प्रेम अनि बिबाह हुनै पर्छ भन्ने छ र ?असल साथीमात्र हुन मिल्दैन ?” यारिलि हल्का रूपमा मसुक्क मुस्कुराउँदै ,निहुरिएर आफ्नो हातले आफ्नै नङ कोट्याई रहि!
एक सन्नाटा छायो वातावरणमा फेरि ! यारिलिको मुस्कानले फेरि रजरका प्रश्नहरूलाई थाँति राखेर मौनतामा अल्झाई रह्यो ! ” तिमी साथमा हुँदा संसार नै मेरै हो जस्तो लाग्छ । भावनाहरूले सकारात्मक उर्जाहरू दिइरहेका हुन्छन् । आखिर मन मिलेपछि बिहेमा किन हिच्किचाहट त तिमीलाई ? सामिप्यता त तिमी पनि त चाहान्छेउ नि मेरो , जता जाउँ भने पनि नाईं नास्ती नगर्ने, उमेर पनि त कच्चा छैन ?” सुनसान ठाउँमा फेरि एकचोटी सन्नाटाले गिज्यायो उसलाई ! ” छोरीमान्छेको मन साँच्चै भगवानले पनि बुझ्दैनन् भन्थ्ये, विश्वास लाग्न थाल्यो अब त “ फेरि लाचारी पोख्यो उसले ।
“ हे जहिले पनि बिहेकै मात्र कुरा गर्छौ यार भेट भयो कि , दिनमा एकचोटी चैं, भै’ गो बिहेकै हतार भएको भए , तिमी राम्री केटी खोजेर बिहे गर न त , मेरो आशा नगर ! ” मनमुटु उसैलाई सुम्पिएर बसेको विचरो रजर , यारिलिका कठोर शब्दहरूले आहात भयो । ऊ उठेर हिंडि !
रजर धेरैबेर एक्लै त्यहिं बसिरहयो । उसका आँखाहरू रसाए । मन भक्कानिएर आयो । घरबाट “बिहे गर्नुपर्यो ,कि केटी भए भन हैन भने हामीले खोजेकी गर “भनेको पनि धेरै भैसक्यो ! मनमुटु अर्कैलाई दिएर बिहे अरूसँग कसरी गर्नु, घरमा के भन्नु , बिहेको कुरै सुन्न नमान्ने प्रेमिकालाई कसरी मनाउनु ? अँध्यारो छिप्पि सकेको थियो, यत्तिकैमा फोनमा ‘टेक्स्ट’ आयो टिङ् टिङ …
“हाम्रो परिवार र समाजले हामी जस्ता मध्यम वर्गिय परिवारका केटा केटीहरूको भावना र चाहानालाई थेग्नै सक्दैन , रजर । पचाउनै सक्दैन । तिमी भित्र भएको ईच्छा र आकाङ्क्षा भोली हामी दुबैको लागि ठूलो अभिसाप बन्नेछ । तिमीबाट पाएको आत्मियताको कुनै मोल छैन मसँग । माया म पनि गर्छु तिमीलाई आत्मादेखि ! तिमीलाई भेट्दा लाग्छ कहिल्यै नछुटिउँ, हरपल तिम्रै आँखा वरिपरि बसिराखौ ! तिमीले छोएका हरेक पलहरू मेरो मुटुमा ढुकढुकी भएर बसेका छन् ! सायद तिमी मेरो मिल्ने साथी नभएको भए, म यो कुरा कहिल्यै भन्ने थिईन् होला । तिम्रो नजिक हुँदा महसुस गरेको मित्रता,आफ्नो हुनुको आत्मियता म अरू कसैसँग अनुभुत गर्नै सक्दिन ! तर मलाई माफ गर रजर म तेस्रो लिङ्गी हु , अनि मलाई जवाफ देउ , के अझै तिमी मसँग बिहे गर्न सक्छौ ?”
भर्जिनिया