वर्तमान समयमा सामाजिक सञ्जालमा देखिरहने अग्रणीमा थुप्रै नाम मध्येको एक नाम हो ,`राजु क्षत्री अपुरो ´ ! वर्तमान समयमा नेपाली लघुकथा क्षेत्रमा उनी एउटा स्थापित लघुकथाकारको रूपमा परिचित छन् । विदेशमा रहेर पनि नेपाली साहित्यको विकासमा लागि परेका अपुरो , सामाजिक काममा पनि उत्तिकै लागिपरेको देखिन्छ। अाफ्नो समयमा खेलाडीको रुपमा सानो परिचय समेत बनाइसकेका उनी पत्रकार पनि हुन् । उनको संक्षिप्त जीवन कहानी र नालीबेली खोतल्ने प्रयासमा हिमाल टाईम्सकर्मी विपेन उलङगे गरेको संक्षिप्त कुराकानी :
नमस्कार , यहाँलाई हाम्रो यस कार्यक्रमा हार्दिक स्वागत छ। सर्वप्रथम आफ्नो परिचय बताइदिनुस् न ,
— मेरो पनि नमस्कार , म राजु क्षत्री अपुरो ! माछापुच्छ्रे गापा लाहाचोक कास्की , हाल मलेसियामा बिगत ६ वर्षदेखि लगातार कार्यरत छु। दुई चरण गरेर मलेसियाको मेरो पूरा बसाई १५ वर्ष पुगेको छ।
आफ्नो लघुकथाकारिताको बारेमा जानकारी गराइ दिनु हुन्छ की?
–मैले लघुकथा लेख्न थालेको १४ वर्ष पूरा भएको छ । तर फेसबुक र सामाजिक सञ्जालमा मेरो लेखनको सक्रियता चाहिँ २०७२ देखि मात्र भएको हो। मैले मेरा केही लघुकथा, भाग्य र कर्म , अाशाका झिल्का , दिमागको बिर्को गरि चारवटा लघुकथा सङ्ग्रह प्रकाशन गरिसकेको छु । । मेरो चौथो लघुकृति दिमागको बिर्को प्रकाशनपूर्व नै राजु क्षत्रीका लघुकथा शीर्षकमा पर्वत देउपुरका नरहरी शर्माले थेसिस पनि गरेका छन् । हाल म हाम्रो लघुकथा पाठशाला पेजको सक्रिय एड्मिनको रुपमा रहेर लघुकथाको विकास बिस्तारमा लागिरहेको छु।
अहिले तपाईं हाम्रो लघुकथा पाठशाला पेजमा सक्रिय रहेर लघुकथालाई प्रबर्द्धनमा जुटिरहनु भएको देखिन्छ । यसको गतिविधिबारे केही जानकारी गराउनुस् न !
— हाम्रो लघुकथा पाठशाला पेजमा हामी अहिले ६ जना एडमिन छौँ । यो पेज लता केसी दिदीले स्थापना गर्नुभएको हो। हामीले कामको बाँडफाँड गरेका छौँ। जस्तो कि , हिमाल टाइम्स अनलाइनमा प्रकाशित गर्ने लघुकथाको छनोट तथा सम्पादन मैले गर्दै आइरहेको छु। शुभ शर्माद्वारा हुने लाइभ वाचनमा संयोजक रहेको छु। शेखरकुमार श्रेष्ठ सरले समीक्षा लगायत अन्य प्राविधिक सहयोग गर्नुहुन्छ।
दुर्गा वनवासी शिवाकोटीले साप्ताहिक अडियो वाचन गर्नुहुन्छ। डिलाराम आचार्यद्वारा वाचन गर्ने लघुकथाको छनोट संयोजकमा लता दिदी रहनु भएको छ। पौडेल बिमुन्सले पेजको विशेष अवसरमा जुम कार्यक्रम संचालनको जिम्मा लिनु भएको छ । हाम्रो यस पेजलाई मजबुत बनाउन डा. पुष्कर राज भट्ट , करुणा ढकाल, अनु विज्ञाति , रचना शर्मा , शेखर अर्याल , हेम पोखरेल, डिलाराम अाचार्य ` इच्छुक ´ र साहित्यिक कोपिलाले विशेष सहयोगीकारूपमा आ -आफ्नो भूमिका निभाउँदै आउनु भएको छ।
हाम्रो उद्देश्य भनेको अाफू पनि सिकौँ र अरूलाई पनि जानेका कुरा सिकाऔँ भन्ने रहेको हुनाले हामी लघुकथा नपढ्नेलाई पढ्न प्रेरित गर्छौँ । पढेकालाई लेख्न अभिप्रेरित गर्ने, लेख्नेलाई स्थापित गराउने र अग्रज श्रष्टाहरूको सम्मान गर्ने भन्ने अभिप्रायका साथ अगाडि बढिरहेका छौँ । हेमलता उप्रेती , अवतार ढकाल , त्रिलोचन ढकाल , दिङ्लाली सर , गंगा दाहाल न्यौपाने , लक्ष्मी पौडेल , इन्दिरा चापागाईँ , प्रभादेवी पौडेल , ऋषि तिवारी , प्रेमपुन मगर , राजकुमार श्रेष्ठ, रमेश सुवेदी , सुशीला सुवेदी पाठक अादि धेरै धरै लघुकथाकारहरूले देखाउनु भएको सक्रियता र अप्रत्यक्ष सहयोगप्रति हामी गर्व गर्छौँ । हाम्रो टिमको प्रशंसा गर्नेहरूको संख्या ठुलो छ। हामीलाई पनि केही गरौं भन्ने जोश र जाँगर बढेको छ।
तपाईले अग्रज तथा समकालीन लघुकथाकारका नाम लिनु पर्दा को कस्को लिनुहुन्छ ?
— यो एउटा जटिल प्रश्न हो, मेरो लागि ! तैपनि पढिएका आधारमा भन्नु पर्दा डा. रवीन्द्र समीर, नारायण तिवारी , डा. पुस्करराज भट्ट, खेमराज पोख्रेल ,ध्रुब मधिकर्मी , श्रीओम श्रेष्ठ रोदनका लघुकथा मन पर्छन् । डा. कपिल लामिछाने , किशोर पहाडी , सुमन सौरभ , कृष्ण बजगाईँ , बिनय कसजु , आदिका लघुकथाहरू राम्रा लाग्छन् । समकालीनमा धर्मराज सापकोटा ( राजु) , मन्दिरा मधुश्री, अवतार ढकाल, लता केसी , मोहन अधिकारी ( सिलिगुडी )नारायण पौडेल माझघरे, श्रीराम राई , आदिका मन पर्छन् ।
तपाईं बिदेशमा बसेर पनि आफ्नो गाउँ बनाउन कम्मर कसेर लागिपरेको देखिन्छ । यो बारे केही चर्चा गरौँ न !
— केही वर्ष अघिसम्म हाम्रो गाउँ हरेक कुराले पछाडि परेको थियो। जनप्रतिनिधिको मात्रै भर पर्ने र सरकारको मात्रै मुख ताक्नुभन्दा हामी पनि एकजुट हुँदै गाउँ र गाउँलेहरूको लागि केही गरौँ न त भन्ने अभियान चलायौँ । कोरियामा कार्यरत साथीभाइहरूले होस्टेमा हैंसे मिलाए। मलेसिया लगायत खाडी मुलुक र युरोप अमेरिका जापान अस्ट्रेलियामा बसोबास गर्ने केही दाजुभाइ दिदीबहिनीहरूले हाम्रो अभियानमा साथ दिंदै गए।
हामीले आर्थिक पाटो सम्हाल्यौँ। स्वदेशमा बस्नेहरूले व्यवस्थापन कार्यमा साथ दिए। यो काम कुनै एक दुई जनाले मात्रै गरेको होइन। पुरै टिम मिलेर गरेको हो। हो , केही कामको संयोजन र सक्रियतामा म खटिएको चाहिँ हुँ ।युवाभाइहरूलाई गाउँ कसरी बनाउन सकिन्छ भन्ने एउटा मार्ग चाहिँ देखाएको हुँ । यसमा मेरो कलमले पनि ठूलो भूमिका निभाएको छ भनेर म सगर्वका साथ भन्छु।
सामाजिक काम गर्दा थुप्रै आरोप आउने गर्छन् भनिन्छ, तपाईलाई त्यस्तो कुनै आरोप त आएन ?
— म त हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने? भन्ने नारा लिएर हिड्ने मान्छे हुँ । आरोप त नआउने कुरै भएन। तर सचेत र बुद्धिजिवी वर्गले हामीलाई हेर्ने दृष्टिकोण सकारात्मक छ। बन्द कोठामा बसेर फेसबुकमा स्टाटस लेखेजस्तो र कमेन्ट लेखेजस्तो सजिलो छैन पैसा जुटाउन। बिनापैसा कुनै सामाजिक काम हुनै सक्दैन। आर्थिक श्रोत जुटाउन कति गाह्रो हुन्छ भन्ने कुरा हात बाँधेर बस्नेलाई के थाहा ? होलान् कतिपय, जो मेरो कार्यमा जलेर अारोप लगाँछन् तर ती मेरा लागि प्रेरक हुन् , भन्ने मैले ठानेको छु ।
तपाईं खेलकुदमा पनि सक्रिय मान्छे । आफ्नो खेल जीवनबारे बताउनुहोस् न!
— मेरो सबैभन्दा रुचिको विषय नै खेलकुद हो। म आफ्नो समयको फुटबलको राम्रै खेलाडी हुँ । भलिबलमा पनि राम्रै छाप छाडेको छु। फुटबलमा दिल्ली च्च्याम्पियनसिप लिगमा दुई सिजन खेलेँग। भलिबलमा बिदर कर्नाटकको महाराजा युथ क्लब बाट पनि केही प्रतियोगिता खेलेँ ।मलेसिया बसाईमा पनि नौ वर्षसम्म आफ्नो टिममा सक्रियता देखाएँ ।
म फुटबलमा आक्रमण शैलीमा हुन्थेँ यानी स्कोररमा। भलिबलमा लिफ्टरको भूमिका निभाउथेँ । भारतका प्रख्यात खेलाडी सुनिल क्षत्री र म सन् १९९९ मा दिल्ली केन्ट क्लबबाट एक सिजन लिग खेलिसकेका हौँ । त्यो बेला उनी स्कुले विद्यार्थी थिए। उमाबी सकिएपछि उनी राष्ट्रिय क्लबमा अनुबन्ध भै देश कै प्रतिनिधित्व गर्न पुगे। मैले चाहिँ माथिल्ला क्लबको लागि विश्राम लिएँ ।
अब खेल जीवन मेरो लागि एकादेशको कथा हुन पुगेको छ।गाउँ फर्किएपछि पुन प्रशिक्षकको भूमिकामा रहुँला , पोखरामा बेलाबेलामा हुने ४० वर्ष माथिका प्रतियोगितामा भाग लिउँला भन्ने लागेको थियो। बढ्दो उमेर अनि हाल खुट्टामा आएको समस्याले अब म दर्शक बाहेक केही हुन सक्दिन भन्ने महसुस गरिरहेको छु। शायद ,खेलकुदभन्दा पनि अबको मेरो ध्यान साहित्य र समाजसेवामा नै रहनेछ ।
अँ साच्चै , तपाईंले हालै मात्र विश्व हिन्दी लघुकथाको भर्चुअल सम्मेलनमा भाग लिई सम्मान पनि पाउनु भयो । यस बारे के भन्नुहुन्छ ?
— कोरोनाको कहरले अहिले मिटिङ् ,भेला, कार्यक्रम भर्चुअल बाट गरिन थालिएको छ। अहिले लघुकथा समाजले पनि मलाई महत्त्वका साथ स्थान दिइरहेको छ।।यस्तै अन्य गतिविधिमा पनि मलाई सहभागी हुन निम्तो आइरहन्छ ।
यस्तै सहभागी हुने क्रममा आधुनिक नेपाली लघुकथा पेजको तेस्रो बार्षिक कार्यक्रममा भारतका प्रख्यात साहित्यकार डा. रामनिवास मानव प्रमुख अतिथि हुनुहुन्थ्यो । उहाँले मेरो लघुकथा सुन्नु भयो। तत्पश्चात् इनबक्समा हाम्रो परिचय बढ्यो। उहाँले मसंग तीन वटा लघुकथा माग्नु भयो। मेरा लघुकथा अब्बल लाग्यो भन्नु भयो र मलेसियाको प्रतिनिधित्व गराउदै मलाई स्थान र मनुमुक्त मानव ट्र्स्टबाट नेपाली लघुकथामा पुर्याएको योगदानस्वरुप सम्मान पनि प्रदान गर्नु भएको हो। यो मेरो लागि अति नै खुसीको कुरा हो। यसले मलाई थप जिम्मेवार बनाएको छ ।
छोटा छोटा हाँस्य लेख पनि निकै लेख्नुहुन्छ। कसरी फुर्छन् यस्ता टुक्रे लेखहरू ?
— हो , हाँसेर बाँच्नु पर्छ भन्ने मेरो सोच हो त्यसैले कहिलेकाँही मुड आउँदा छड्के हानिरहेको हुन्छु । पाठकहरू हाँसेको रियाक्ट देख्छु। लौ , कम्तिमा पनि केही पाठकलाई त हसाउँन सफल भएँ भन्ने लाग्छ। अरुको खुसीमा रमाउन पाउनुको मजापनि अलग्गै लाग्छ , मलाई !
अन्तमा केही भन्न चाहानु हुन्छ कि ?
–मेरो आफ्नो सानो नालिबेली हिमाल टाइम्स मार्फत आम पाठकमा पुर्याउन सहयोग गरिदिनु भएकोमा हार्दिक धन्यवाद दिन चाहान्छु।