लघुकथा-आलु
सरुभक्त श्रेष्ठ
किचनको खण्डे बाकस मन्तिर एक किलो आालु थियो ।माथिल्ला खण्डमा प्याज र लसुन थिए ।प्याज र लसुन चुपचाप थिए ।आालु खण्डमा विवाद चल्यो ।विवाद चल्नुको कारण –आलुका विभिन्न स्वरूप थिए।कुनै आालु चिल्ला मोटा थिए ।कुनै डल्ला थिए ।कुनै गन्ठ्याङगुन्ठुङ परेका थिए ।
” हेर् , त्यो डल्लेलाई ! आलु हो कि लसुन हो ।”एउटा चिल्लो मोटोले गिज्यायो । नकरा, त्यसलाई हेर् न कस्तो छ ! त्यस्को लेखा म कति राम्रो राम्रो ! ” “त्यो गन्ठ्याङगुन्ठुङे– अष्टबक्रे !त्यस्लाई देख्दा त मलाई अाफू आलु भएकोमा दिक्क लाग्छ ।” चिल्लो मोटोले मर्ममै पर्ने गरि प्रहार गर्यो ।”तँलाई दिक्क लाग्छ भने किन आलु भइ जन्मिस् त नि !” गन्ठ्याङगुन्ठुङेले चोट खाएर भन्यो ।
” मलाई के थाहा तँ जस्तो पनि आलु भएर जन्मन्छस् भन्ने !” चिल्लो मोटोले प्रहार गर्न छोडेन । “रूपमा धेरै घमण्ड नगर् ! ” गन्ठ्याङगुन्डुङेले भन्यो । ” पाएको रूपमा मज्जाले घमण्ड गरिन्छ ।तँसित पो छैन र घमण्ड गर्न सक्दैनस् ! मोटो चिल्लोले घमण्डले फुलेर भन्यो । गन्ठ्याङगुनठुङ परेको आलु लाजले , संकोचले , अपमानले भुतुक्क भयो ।अरू बोल्न सकेन ।
त्यसै साँझ घरधनीले चिल्लो मोटो आलु र गन्ठ्याङगुन्ठुङ परेको आलुलाई ताछेर , काटेर ,मिसाएर , पकाएर खायो ।घरधनीको पेटमा पुग्दा दुबै पहिलेका रूपरङ्ग जम्मै हराएर मसिनो भई रसायनिक सुनामिमा परिरहेका थिए । दुबैले एकअर्कालाई समान रूपमा देखे । ” खोइ त हजुरको हिरो रूप ? ” पूर्व गन्ठ्याङगुन्ठुङ आलुले छेड हानी सोध्यो ।
” अरे यार , माफ गर साथी ! मलाई आत्मज्ञान प्राप्त भइसक्यो । रूप भनेको बाह्य जगतको भ्रम रहेछ ।ब्रह्म सत्य, जगत मिठ्या ।” पूर्व चिल्लो मोटो आलुले लज्जित भई भन्यो । पूर्व गन्ठ्यानगुन्ठुङ आलुले आफूले भोगेको लज्जा र अपमानलाई प्रतिष्ठाको विषय बनाई राख्नु आवश्यक मानेन । दुबै पेटको रसायनिक प्रकृयामा गुज्रेर चुपचाप आन्द्रातर्फको अरू गहन आत्मज्ञानी मार्गमा प्रवेश गरे ।