लघुकथा : कसरी जगाउने ?
बिमुन्स पौडेल
फेसबुकमा साहित्य संजालमा भेट भयो , रमेशसँग ! हेर्दा सभ्य देखिन्थ्यो । धेरै नबोल्ने तर जब बोल्थ्यो ठूला ठूला योजना सुनाउथ्यो उसका योजना सुनेर समूहका सबै मख्ख थिए , ‘’आहा यति वृहत् योजना छन् , हाम्रा ! हामी यिनी साना तिना संस्थाभन्दा धेरै उच्च स्थानमा थोरै समयमा पुग्न सक्छौँ’’ ´´ समूहका सबैमा यो सोचाईं थियो|
यी वृहत् योजना सफल बनाउन समूहका सदस्य सक्रिय थिए| छलफल सुरु भयो । कार्यक्रम सफल पार्नका लागि वरिष्ठ साहित्यकारहरूसँग सम्पर्क गर्ने र कार्यक्रममा भित्र्याउनका लागि समय लिने, ब्यानर तयार गर्ने, कार्यक्रमको रुपरेखा तयार गर्ने, प्रस्तोता तयार गर्ने , रातको १/२ बजे सम्म छलफल हुन्थ्यो । सजिलो थिएन, समूह बीच कार्यक्रमको सहमति जुटाउनु ! यसरी हेर्दा हरेक सदस्यले रातको निद्रा, पेटको भोक समेत त्याग गरेर संस्थामाथि उठाउन लागि परेका थिए तर रमेशले कार्यक्रम बनाउने अतिथि चयन गर्ने अन्य सहभागीहरूको खोजी गर्ने कार्यमा कहिले पनि सहभागिता जनाएन ।
हरेक कार्यक्रम फेसबुक मार्फत प्रत्यक्ष प्रशारण गरिन्थ्यो । संस्था र सबै कार्यक्रमहरू लोकप्रिय बन्दै गए । दिनानुदिन नयाँ सदस्यले रुचि देखाएर आवद्ध हुँदै गए| सक्रिय सदस्यहरूले अन्य मानिसका बीचमा राम्रो चिनारी बनाउन सफल भए तर रमेशले यो मौकालाई आफैले लात हानेको थियो |
एकपटक , निश्चित गरिएको कार्यक्रममा सबैको अनिवार्य उपस्थिति रहनु पर्ने निर्णय भयो तर जब कार्यक्रम सुरु भयो । सधैझैँ यसपालि पनि रमेश उपस्थित भएन । पालै पालो सबैले असफल प्रयास गर्यौ , कार्यक्रममा हाजिर बनाउनका लागि ! कार्यक्रम हुँदै गयो तर रमेश हरेक बहानामा लुकिरह्यो |
कार्यक्रम सम्पन्न भैसके पछि टिकाटिप्पणी गर्ने र खोट देखाउने क्रम सुरु गर्यो , रमेशले | किन त्यस्तो गर्यो ? कसैले बुझ्न सकेन । एक्कासी ऊ बम्कियो , “आफ्नो नामको अस्तित्व सबैभन्दा माथि हुनु पर्थ्यो तर मैले सुन्न पाइँन, यसको तीतो नतिजा सबैले भोग्नु पर्छ’’ । उसले जुन रुप देखायो , एक हिरण्यकश्यपूको जस्तै भान हुन्थ्यो | त्यो दिन सबैलाई विश्वास भयो , “ रमेश साँच्चै नै मानसिक रोगको सिकार भएको छ र उपचारको आवश्यकता छ ।´´
तर गम्भीर कुरा , मान्छेहरू उसलाई माथि चढाउने र हुंदै नभएका कुरा लगाएर ऊभित्रको क्रोधलाई अझ उग्र बनाउन सघाउनेको पनि कमि थिएन । अनि सभ्य समाज अहिले मौन छ किनकि जो निदाइ रहेको हुन्छ , उसलाई जागा बनाउन सकिन्छ तर जो निदाएको स्वाङ्ग गरिरहेको हुन्छ , उसलाई कसरी जगाउने ?
पोखरा