लघुकथा: सन्तानको माया
सुदन पन्थी
मलाई विश्वास थिएन, कौशीमा पनि यसरी खेती हुन्छ भन्ने । आमाको मिहेनतको फल, सधै जसो ताजा अर्गानिक तरकारी, घरका सबैले फाइदा लिइरहेका थियौं । नजिकै छिमेकिको खेतबाट सकिनसकी तसलामा माटो बोकेर बोरा, काटेका जर्किन र गमला भर्नु भएको छ । भान्साबाट निस्कने फोहर तह लगाउन आमा कति सिपालु, गजबको मल त घरमै तैयार गर्नु हुन्छ।
यो पटक भने आमालाई थोरै भए पनि सघाउन मन लाग्यो , मलाई। एउटा गमलामा राम्रोसंग सप्रेको, हरियो र चिल्लो पात भएको बिरुवामा मेरो आखा पर्यो। त्यसको वरिपरी उम्रिएको झार गोडिदिए ।अब त्यो बिरुवामा दिन दिनै पानी राख्नु मेरो दैनिकी जस्तै भयो । आमाले अरु बोटबिरुबामा मल राख्दा, म पनि मेरो रोजाइको, त्यो बोटमा अल्ली धेरै मल हाल्थे । आमालाइ थाहा भइ सकेको थियो कि म त्यो बोटलाई कति धेरै चाख दिएर हुर्काउदै थिए भन्ने, आफ्नै सन्तान जस्तै ठानेर ।
उक्त बोट प्रतिको मेरो लगाव देखेर, आमा पनि धेरै खुशी हुनु भएको थियो। राम्रो मलजल पाए पछि, त्यो बोट ८-१० दिनमै हलक्क बढ्यो, लहराको रुपमा । कुनै जातको सिमी हो जस्तो लाग्यो , मलाई । अनि आमाको देखासिखी गर्दै एउटा सुकेको हागॉ, गमलामा सगैं गाडिदिए, लहराले थाक्रो पाएर माथि माथि चड्न थाल्यो !
म मख्ख थिए, त्यो बोट यसरी छिट्टै हुर्काउन सकेकोमा । एक महिना पछि, आमाले रेखदेख गरेका सबै जसो बोट फूल्न थाले, कुनैमा काक्रोका बतिला देखिए त कुनैमा फर्सीका पहेंला फूल। घिरौला, भिण्डी पनि लटरम्मै फल्न थाले । तर अफ़सोस, मैले हुर्काएको त्यो बोट न फुल्छ न त फल्छ नै। एक दिन, दुई दिन ..महिना दिन पुग्न थाल्यो, अह ! फल्ने नामै लिदैन । दिक्क भएर आमासंग सोधे , “आमा यो सिमी फल्न अरु कति समय लाग्छ ?”
आमाले हास्दै भन्नु भो , “बाबु यो सिमी होइन, यो त हरियो लहरा हुने झार पो रहेछ। तिमी यसको कालो चिल्लो पात देखेर, झुक्किएर सगैको तरकारीको बिरुवालाई पो गोडेर फालेका रहेछौ। भै गो अब अरु मिहेनत गर्नु पर्दैन, उखेलेर फाल यो काम नलाग्ने झार”।
मलाई आफ्नो रेखदेखमा हुर्किएको त्यो बोट उखलेर फाल्न कत्ति मन लागेन । “आखिर हरियो वनस्पति हो, केही नभए अक्सिजन त दिन्छ, भो न फालौँ , आमा “ , मैले भनेँ।मेरो कुरा सुनेर आमाले थप्नु भो “आफूले हुर्काएको वनस्पतिको त यति धेरै माया लाग्छ भने, आफ्नै सन्तानको झनै कति माया लाग्ला? सबै सन्तानले आफुले सोचे अनुसारको प्रगति गर्छन् नै भन्ने हुदैन । सबै छोरा छोरी आमाबुबाको लागि उत्तिकै प्यारा हुन्छन्, अब बुझ्यौ, “सन्तानको माया”?।