माफ

everest kitchen

लघुकथा – माफ

कोकिला चौधरी

हरि पेशाले शिक्षक थिए भने उनको भाइ नेपाली सेनाको जागिरे थिए ।दुई दाजुभाइ एकले अर्कोलाई असाध्यै माया र सद्द्भाव गर्दथे। उनको भाइ कङ्गोको लागि शान्तिसेना जाने अबसर पाएको हुनाले कङ्गो गएका थिए। शान्तिसेना गएको एक बर्षको बसाई पछि नेपाल फर्के ।नेपाल आएपछि सेनाको जागिरबाट अबकास लिए। अबकासबाट आएको रकम र शान्तीसेनाबाट आएको दुबै रकमले बजारमा व्यापार गर्न थाले ।ब्यापार सोचे भन्दा राम्रो चल्यो ।ब्यापार राम्रो चलेपछि केही समयमा नै बजारमा घडेरी किनि घर पनि बनाए।

उनको भाइको प्रगति देखेर केही गाउँलेलाई डाहा लाग्न थाल्यो। हरिको कान भर्न सुरु गर्न थाले ।हेर् हरि, तेरो भाइ सानो छँदा तैंले हरेक अप्ठ्यारा परिस्थितिमा हेरबिचार गरिस्।आफ्नो भाइलाई लेखाइस् पढाइस् ठूलो बनाइस्।तर अहिले आएर तेरो भाइले तँलाई नै गन्दैन।यदि गनेको भए ब्यापारबाट आएको पैसा तेरै हात पार्दथ्यो होला। तर उसले त बजारमा घर पो ठड्याइसक्यो।

हरिले गाउँलेहरुको कुरा सहि मान्दै आफ्नो भाइप्रती आक्रोश पोख्न थाले।दुई दाजुभाइ बीच बैमनस्यता बढ्दै गयो र अन्तमा बोलचाल बन्द भयो ।

केही समयपछि हरि सिकिस्त बिरामी भइ थला परे।आफ्नो दाजु बिरामी भएको कुरा भाइले कताकताबाट थाहा पाएर घरमा आइ उपचारको लागि अस्पताल पुर्याए। उपचार पाएपछि हरि केही समयमा नै बिसेक भए।

हरिले गाउँलेको लहलहैमा लागेर गरेको अपमानप्रती भाइसँग माफी माग्दै भने -“भाइ मैले तँलाई बुझेनछु।अरुको कुरा सुनेर ब्यर्थमा दुश्मनी गरें।मलाई माफ ; गर्नु है ।भाइले दाइलाई भने -“यी सबै कुरा छोड्दिनु दाइ ,मेरो पनि तपाइँ बाहेक को छ र ।मेरो हतार छ दाइ ,म अहिले जान्छु भन्दै निस्के।”

भाइ गएपछि हरि पश्चाताप मान्दै बसे।

बाँके