काठमाडौं । जिल्लामा रहेका दुई पालिकामा शिक्षकको दरबन्दी कटौती गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार रत्ननगर र खैरहनी नगरपालिकाका ६२ दरबन्दी काटिएको हो ।
कार्यालयका प्रमुख भूमिलाल सुवेदीका अनुसार खैरहनी नगरपालिकाका ३३ र रत्ननगरका २९ दरबन्दी कटौती गरिएको हो । कटौती गरिएका दरबन्दीहरु कालिका र राप्ती नगरपालिकामा पठाइएको छ । यस्तै इच्छाकामना गाउँपालिकामा सबैभन्दा बढी थप गरिएको छ ।
सुवेदीका अनुसार विद्यार्थी सङ्ख्याका आधारमा दुई नगरपालिकाका थोरै विद्यार्थी भएका विद्यालयबाट दरबन्दी कटौती गरी जिल्लाका अन्य स्थानीय तहमा पठाइएको हो । इच्छाकामना गाउँपालिकामा ३५, राप्ती नगरपालिकामा १५ र कालिका नगरपालिकामा १२ जना शिक्षक थप गरिएको छ । पहिलो चरणमा खैरहनीका १४ र रत्ननगरका छ शिक्षकलाई इच्छाकामना पठाइएको छ ।
यसरी मिलानमा पर्नेमा आधारभूत तह ६ देखि ८ कक्षाका शिक्षकहरु रहेका छन् । दरबन्दी मिलान गरी पठाइएका शिक्षकहरुलाई पालिकाले व्यवस्थापन गर्ने छ । माडी नगरपालिका र भरतपुर महानगरपालिकामा भने पालिका आफैँले आन्तरिक मिलान गरेका छन् ।