भारतमा कोभिड सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख भन्दा बढी

everest kitchen

 

ऐजेन्सी । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड पाँच लाख भन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ९४६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख १२ हजार ९३ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १९८ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५१ हजार ७२७ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख ४६ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख १३ हजार ६०३ सक्रिय सङ्क्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार ३५७ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र ११ जनाको मृत्यु भएको छ ।

भारतीय सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिदै आएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर १८ करोड ४२ लाख ३२ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो बुधबार मात्र एकै दिनमा आठ लाख ४३ हजार १९१ जनाको कोभिड–१९ परीक्षण गरेको छ ।