लघुकथा : स्रोत
-रामजी चौलागाईं
लामो समयको अन्तराल पछि भेटघाट पनि हुने,नयाँ बनाएको घर हेर्ने र मुख पनि फेर्ने दाउले म छोरी जुवाइँकाे घरतिर लागेँ।
कुनै महाराजको दरबारमा एउटा साधारण व्यक्ति भित्रिएझैँ जुवाइँ छोरीको गगनचुम्बी महलमा म भित्रिएँ। बल्लतल्ल पुगेको बूढो ससुरो म।जुवाइँले राम्रो सत्कार गर्नुभयो।
खानपिन पछि वहाँले सबै चोटाकोठा घुमाएर देखाउनुभयो।एउटा झुपडीको बास हुने मजस्ताले आफ्नो अहोभाग्य ठहराएँ। “जुवाइँ साहेब,यत्रो महल केले ठड्याउनुभयो? “खसखस लागेर मैँले साेधेँ।
वहाँले अान्द्राभुँडी खोलेर भन्नुभयो,”अलिअलि आफ्नो जेथा थियो।बाँकी सबै ऋण हो।” जुवाइँको ऋणको भारी सुन्दा घरको उचाइभन्दा उरुङ भएको थाहा पाएपछि मैँले ऋण तिर्ने स्रोत हेरेँ।सबै स्रोतहरू नाङ्गा भइसकेका र घर भाडामा पनि नलाग्ने देखेपछि मन बुझाउने ठाउँ थिएन।
मैँले गम्भीर भएर सोच्दै जुवाइँलाई भनेँ,”स्रोत नहुनेले यत्रो महलको अाँट कसरी गर्नुभयो ?घाँटी हेरी हाड निल्नुपर्थ्यो नि।ऋण तिर्न नसकेर धोती न टोपी भई आफ्ना जुवाइँ छोरीको दोबाटाको बास भयोभने कसो गर्नु,जुवाइँ साहेब ?”
“चिन्ता नगर्नुहोस् न ससुरा बा,स्रोत नभई कसले पो कामको थालनी गर्थ्यो र…।”वहाँले जवाफ दिँदै भन्नुभयो।
ठेगाना:भीमेश्वर न.पा.४,दोलखा