योनीमा मृत्यु

everest kitchen

लघुकथा : योनीमा मृत्यु

इन्दिरा चापागाईं

 

“आमा! म स्कूल जान्न।” सधै उत्साहित भएर पढ्न जाने छोरीको यस्तो कुरा सुनेर आमा छक्क परिन्।
“के भयो र छोरी? के भनेकी त्यस्तो? पढ्नु पर्छ। ठूलो मान्छे हुनु पर्छ ।समाज र देशको लागि केही गर्नु पर्छ। असल मान्छे बन्नु पर्छ।राम्रो शिक्षाले नै असल बनाउँछ।”
“पढ्न पनि पर्या छैन मलाई।छोरीले मात्र असल बन्नु पर्ने हो र ?छोराले असल बन्नु पर्दैन? समाज र देशको लागि केही गर्नु पर्दैन?”

“पर्छ नि, कसले पर्दैन भन्यो? तेरो दाजु त्यस्तो असल छ।अशक्तलाई सहयोग गर्छ। समाजमा सरसफाई अभियान चलाउँछ ।गरिबको लागि राहत जुटाउने काम गर्छ।”
“मेरो दाजुले मात्र गरेर के गर्नु ?सबै केटाहरुले गर्नु पर्यो नि।”
एघार वर्षकी छोरीको मुखबाट आज अचानक यस्तो कुरा सुनेर आमा छक्क परिन्।

“नानाथरी कुरा नगर छोरी। ढिलो भैसक्यो।छिटो स्कूल जा।”
उसले खै के सोची।अलिकति साहस बटुली।गणित किताबको बिचमा चक्कु हाली।आइलाग्नेसँग जाइलाग्छु।घोपिदिन्छु भन्ने अठोट गरी र स्कूल हिँडी।
जङ्गलको बाटो जानु पर्थ्यो। बाटामा हिड्दै गर्दा लुकेर बसेका राक्षसहरुले के के कुरा गरेको सुनी।

न्वारानदेखिको बल झिकी र पछाडी फर्केर नहेरी कुदी। जसरी पनि निर्मला, भागिरथी हुनबाट आफू बच्नु पर्छ भन्ने कुरा मात्र दिमागमा घुमी रह्यो।स्वाँ स्वाँ गर्दै पसिनै पसिना भएर घर आइपुगी।पछ्याउदै आएका तिन जना मान्छे फनक्क फर्केको देखेर आमा नराम्रोसँग तर्सिइन्।

भक्कानिएर घुक्क घुक्क गर्दै आमाको छातीमा टाँसिई। शरिर पसिनाले छ्याप्पै भिजेको र आगो जस्तो तातो थियो।आत्तिँदै आँखाभरी आँशु पारेर सोधी,
“आमा! हामी छोरीहरु कहिले सम्म ‘योनीमा मृत्यू’ बोकेर हिड्ने? आखिर कहिले सम्म?”

सभापोखरी १ संखुवासभा।