लघुकथा : पालो
हिमा रोका क्षत्री
राग आफ्नो बहिनी काब्यालाई अौधी प्रेम गर्थे । एकदिन उनी आफ्नो बहिनी काब्यालाई लिएर बिद्यालय जाँदै थिए यतिकैमा एउटा कारले काब्यालाई ठक्कर दिन पुग्यो र उनको निधन भयो । रागले आफ्नो बहिनीलाई काखमा राखेर धेरै बेर रोए , रागले उताबाट परिचित मन्त्रीको कार आउँदै गरेको देखे । कारलाई रोकेर मन्त्री सामु आफ्नोे बिन्ती बिसाए । मन्त्रीले रागलाई सान्त्वना दिँदै भने , चिन्ता नगर, हामी त्यो अपराधीलाई खोजौँला । यहाँ यस्ता घटना भइरहन्छन् अहिले भने मलाई हतार छ भनेर अगाडि बढे ।
केही दिनपछि मन्त्रीकी बहिनी राजेश्वरीको बिबाह हुँदै थियो । राजेश्वरीले आफ्नो बिबाहको लागि सरसामान किनेर कारमा चढेर घर फर्किदै थिइन् । अचानक ! उनी चढेको कार दुर्घटना भयो। दुर्घटनामा उनको दायाँ हात गुम्यो । त्यसपछि उनको बिबाह रोकियो ।
अपाङ्ग बैनीलाई भेट्न मन्त्रीको घरमा मान्छेको भिड थियो । यो देखेपछि मन्त्री आगो भएर भने -म मेरो बहिनीलाई यो हालतमा पुर्याउनेलाई म छोड्दिन।
यतिकैमा त्यहीँ भिडबाट एउटा आवाज आयो । मन्त्री जी, चिन्ता नगर्नुस् ,यहाँ यस्ता भइरहन्छन् ,उहाँको त हात मात्र गुमेको थियो, मेरो त बैनी उत्तिखेरै प्राण त्याग गरेकी थिई। हजुरलाई सान्त्वना दिने र लास हेर्ने समेत फुर्सद कहाँ ? चुनाव आएकै छैन अनि ।