लघुकथा – अंकलको आदर्श
पवित्रा अधिकारी
“कति सोध्नु भएको ? भर्खरै भनेको हैन, बजार गएकी छ भनेर ।” आमाले आफूलाई भएको अल्जाइमर (बिर्सने रोग) का कारण बारम्बार बुहारीका बारेमा सोधिरहेको हुनाले दिएको जवाफ थियो त्यो मेरो ।
त्यस दिन हरिशरण अंकल घरमा आउनु भएको थियो । मैले आमालाई फर्काएको जवाफको तत्कालै प्रतिवाद गर्दै भन्नुभयो “के हो धिरोज ! आफ्नी बिरामी आमालाई यसरी थर्काउने हो ? के गर्नु विचरीलाई रोग नै त्यस्तै लाग्यो । तिमीले त अब उहाँलाई बढी माया पो दिनुपर्छ त !”
अंकलका कुराले मलाई आत्मग्लानी भयो । हो त नि!, आमाले त साँच्चै नै बिर्सेर सोध्नु भएको हो । मैले त्यसरी झर्कनु हुने थिएन । त्यति लामो जवाफ फर्काउनको साटो “बजार” भनेको भए त सकिइ गएको थियो नि ! फेरि एकछिनमा त्यही प्रश्न सोधिहाल्नु भयो । मैले पहिले सम्झि सम्झि पनि बिर्सेको वहाना गरेर कति दुःख दिएको थिएँ आमालाई । आज उहाँले साँच्चिकै विर्सदाचाहिँ मलाई झर्को लाग्ने ।
मलाई हरिशरण अंकल साँच्चिकै आदर्श लाग्यो । पहिले बाबाका अनेकौँ साथी मध्येको एक सम्झने उहाँलाई अब विशेष् सम्झन थालेँ । बेलाबेलामा फोनमा सम्पर्क पनि गर्न थालेँ । उहाँको घर उपत्यका बाहिर भएकोले जाने मौका चाहिँ पाएको थिइनँ ।
बिहान सबेरै फोनको घण्टी बज्यो । उही प्यारो अंकलको फोन थियो । मैले “हलो” भन्न नपाउँदै एकै सासमा भन्नुभयो “बाबु एक पटक पशुपति वृद्धाश्रममा गएर बुझिदेऊ न, मेरी आमा खस्नु भएको भन्ने सुन्नमा आयो, काज किरिया मैले गर्नु पर्ने हो कि उनीहरूले नै गरिदिने रहेछन् ? मायादेवी भनेपछि सबैले चिन्छन् ।
(भोजपुर)