कविता- यिनै त हुन् मेरा
शुभ शर्मा
सौभाग्य दियौ भरेर कोख गर्दछु सम्मान
उमेर बीस नहुँदै जन्मे यी दुई सन्तान
मुटुमा भाला रोपेर गयो हितैशी मित्रले
कर्मको लेखा नटर्दो रै’छ रोएर हुन्छ के
अबला नारी गरुँगो भारी काढेर सुस्केरा
यिनैको मुख हेरेर काटेँ हजारौं अफ्ठेरा
भोलिका निम्ति भविष्य खोज्न अहिले दूर छु
मायाले मात्रै नपुग्दो रै’छ मजबुर अाफैं छु ।।
हानेर वेग क्षितिज पारि पुर्यायो कर्मले
सहजसँग बित्दैछ दिन पितृको धर्मले
जोडेर हात झुकाएँ शिर ईशका नाउँमा
नपरोस् शोक नलागोस् रोग बिरानो ठाउँमा
सपना बीच आएर दुबै गालामा चुम्दछन्
हरेक गाँस उचाल्नु अघि आँखामा घुम्दछन्
नखाऊँ भने गाह्रो छ काम शरीर थर्थरी
भिरिन्छ मन नुनिलो आँसु झर्दछ बर्बरी ।।
ठूलोले घर सम्हाल्छ राम्रो सर्वश्व धान्दछ
दाइ छ आमा नलिनु चिन्ता कान्छोले भन्दछ
अत्यास लाग्दा आमाको मन सम्झन्छ बचेरा
दिनको रवि रातको चन्द्र यिनै त हुन् मेरा ।।