लघुकथा : दोधार
सरिता तुलाधर
जसले पनि बिहे गरे , कोही सुखी देखिँन , मेरा आफन्तमा । दिदी रिताको बिहे भयो । वैवाहिक जीवन पनि गजबको बन्यो । माइत जादा पनि चाडै आउनुपर्छ भनेर सासू कराउँछिन् रे ! बुहारी भएपछि जन्मथलो पुग्न नि डर ! उता भिनाजु अति ब्यस्त भैराख्छन् । दिदी भिनाजु सङसङ्गै हिडेको पनि कहिले देखिएन । सम्बन्धमा भन्दा पनि पैसाकै पछि मात्र लागे ,ससुराली समेत जान नभ्याउने अरे ।
साथी मिनाले बिहे गरिन् । खै के पाइन् र ? उसको जीवनमा पनि अशान्ति छायो । छिमेकी बहिनीको पनि ब्यथा त्यस्तै काकाकी छोरीको त झन घर बस्न नै गाह्रो छ रे ! गर्दा नि पछुतो , नगर्दा झन पछुतो जस्तो पो भयो , नारीको जीवनमा बिहे र पोइ घर !
बिचरीहरूले कति सपना बोकेका थिए होलान् , दाम्पत्य जीवनको उल्लास र उमङ्गहरू ! सबै बालुवामा पानी खन्यायो जस्तो भयो होला । हिजोआज म यसो बिचार गर्दै छु , “बैबाहिक जीवन खुशी हुनुपर्ने तर त्यसो नहुने हो त ? ´´ म सोच्दै छु , “ बिहे गरुँ कि नगरूँ ? ´´