लघुकथा – अर्गानिक तरकारी
वसन्त अनुभव
“बाबा! उतातिरको तरकारी टिपौ न! हजुर त खाली किरा लागेको तरकारी मात्र टिप्नुहुन्छ । त्यहाँकोमा किरा लागेको छैन । त्यहीँ टिपौ न।”
“हुदैन न छोरा! त्यो त बजार लगेर बेच्नका लागि हो नि।”
“के हामीले किरा नलागेको राम्रो तरकारी खान हुदैन र! खाली बेच्ने भनिसिन्छ। मत त्यही टिप्छु।
“पख न छोरा! हामीले खाने यही पाटोको मात्र हो के। यसमा केमिकल विषादी केही छर्केको छैन। शुद्ध अर्गानिक छ। हामीले अर्गानिक तरकारी मात्र खानुपर्छ”
“अनि उताको अर्गानिक हैन? किन बाबा?” “हो छोरा उतातिर सबै पाटोको तरकारी अर्गानिक छैनन् । तिनमा अत्यधिक केमिकल विषादी छर्किएको छ। खाली बेच्नका लागि मात्र खेती गरिएको हो।”
“हामीले खादा ती तरकारीले असर गर्दछ भने जसले किनेर खान्छ उनीहरूलाई पनि त असर गर्छ नि बाबा। उनीहरू पनि हामी जस्तै मान्छे होइनन् र?”
“मैले मान्छे हैनन भनेर कहाँ भनेको छुर! ती तरकारीले ढिलोचाडो पक्कै असर गर्दछ। तर छोरा! यो हाम्रो ब्यवसाय हो । यहीँबाट हाम्रो घर चल्दछ । विषादी प्रयोग नगरे रोग किरा लागेर धेरै नोक्सानी हुन्छ। उब्जनी कम हुन्छ।”
“त्यसो भनेर उनीहरूको स्वास्थ्यमा खेलवाड गर्न उचित हो र बाबा!” “कदापि हैन छोरा! तर के गर्नु ग्राहकले किरा नलागेको ताजा तरकारी खोज्छन्। विषादी नहाली हुदैन। अब फेरि सोचौला नि! हिड अब घर जाउ” …(घोराही उपमहानगरपालिका १४, दाङ)