लघुकथा- परिणाम
बिष्णु पोख्रेल
मेरी आमा सधैं हाँसीखुशी देखिनुहुन्थ्यो। दुख पीर के हो भन्ने जीवनमा थाहा थिएन। १४ वर्षको उमेरमा बिहे गरि आउनुभाको रे ! बिचरा , त्यो बेलाको काँचो माटोजस्तै हुनुहुन्थ्यो । तर त्यो काँचो माटोलाई आकार दिने त त्यही परिवारमा हुनुहुन्थ्यो , मेरी हजुआमा र मेरा बा !
मेरी आमा सधैं मुस्कुराउनु हुन्थ्यो । घरभित्र सफल महिला मानिनु भयो । त्यसको कारण अग्रहरूबाट पाएको ज्ञान र संस्कार थियो ।
म ठूली हुँदे गएँ । “जस्तै पीडा भएपनि सबैकुरा भुलेर मुस्कुराउनु छाड्नु हुँदैन ´´ भनेर मलाई सम्झाउनु हुन्थ्यो। १६ वर्षकै उमेरमा मेरो बिहे भयो । माइतीको संस्कार बोकेर घर पुगेकी म बिस्तारै घरको संस्कारमा रमाउन थालेँ ।
म घरमा काँचो माटो थिएँ । परिवारले जस्तो व्यवहार गर्यो,जस्तो सिकायो , म उस्तै बन्दै गएँ । त्यसको परिणाम राम्रो भएन । लाख कोसिस गरेँ तर घरमा मेरी आमाको जस्तो सम्मान पाउँन सकिँन । मलाई दुष्ट भनेर घरकाले अपमान गर्दा म सोच्न बाध्य भएँ , “ म खराब कि मेरो घरको संस्कार ?´´