बिष्णु प्रसाद पौडेल
मुक्तक -१
हरेक मोडमा खुड्किला पार गरी अघि सर्दै छु,
जति कष्ट भए पनि लक्ष्यमा पुग्ने बाचा गर्दै छु,
गन्तव्य सम्म पुगिएला नपुगिएला हिम्मत लिँदै
दिनरात यही कालो मसीले सेतो कागज भर्दै छु।।
मुक्तक – २
हिड्दा हिँड्दै सडक तिर हराउन पुगेछु,
तिम्रो यादले सपनीमा कराउन पुगेछु
दिन रात तिम्रै नाम जप्दा जप्दै फेरि,
सिरानी च्याप्दै निद्रामा बर्बराउन पुगेछु।।
मुक्तक – ३
ठूला ठूला आश्वासन देखाए हिजो अस्तितिर,
सिंह दरबार छोडिकन लागे आफ्नै बस्ती रतिर,
अब त विश्राम गर्ने बेला भएको जस्तो लाग्यो,
नलागेहुन्छ अब देश चलाउने जबर्जस्तीतिर।।
मुक्तक – ४
हुर्केको यौवन सङ्गै खाली सिउँदो भर्न मन् लाग्यो,
तिम्रो मेरो बीचमा प्रीतको बास्ना छर्न मन् लाग्यो
सम्हालेर राखी राख्नु तिम्रो त्यो उर्लँदो यौवन लाई
कुनै दिन रावणले सीता लाई झै हर्न मन् लाग्यो।।