लघुकथा : बुहारीको व्रत
विष्णुमाया पन्थी (विनु)
यो घरकी बुहारी भएर भित्रिएको पनि ऊ आज चार वर्ष भैसक्यो । भनिन्छ बुहारी घरकी लक्ष्मी हुन् । उसलाई घरभित्र बुहारीको रुपमा ल्याउँदा हामी दुई कति — – — खुसी भएका थियौं । मेरा पनि छोरी नभएको हुँदा अरुका आमाछोरी हिँड्दा सासु बुहारी आमाछोरी जस्तै गरी हिड्ने मेरो रहर पूरा हुने भयो भनेर कति रमाएकी थिएँ त्यो दिन ।
मैले पनि अब गाउँघर ,बजार, मठ मन्दिर जाने घरैमा महिला साथी पाएँ भनेर मेरो मन हर्ष विभोर भएको थियो । तर म ताक्छु मुढो बन्चरो ताक्छ घुडो भनेझैँ भयो । बुहारी मैले सोचेको जस्तो हुन सकिन वा बुहारीले सोचेको जस्तो म हुन सकिन ? म नै खराब हो कि बुहारी खराब हो मैले छुट्याउँन सकिन । मेरो त्यो कल्पनाको रहर, रहर रहरमै मात्र सीमित भयो ।
सधैजसो बिहान सूर्योदय भैसकेपछि उठ्ने् बुहारी आज चारै बजेदेखि उठेर सरनतरन गरिरहेकी थिई । आज त सूर्योदय नहुँदै ढोकादेखि भान्सासम्म गल्ली चिसो बनाउन पनि भ्याई । यसलाई विवाह गरेर ल्याएको दिनदेखि कहिल्यै पनि सूर्योदय नहुँदै घर पोछा लाउने काम गरेकी थिएन । मैले पनि त्यसरी बुहारी रातिमा नै उठ्नुपर्छ भन्ने सोच राखेकी थिइन् । आखिर काम नै के पो थियो र ? विहान मलाई आज अचम्म लाग्यो । मैले बुढालाई भने, “बुढो होइन हाम्रो बुहारीलाई आज के भयो ? अहिलेसम्म नभएको कुरा भयो त ? आज कसरी यस्तो अनौठो भयोे ? सूर्य पनि पश्चिमबाट उदाएका छन् कि क्याहो ?” ” छोड ! त्यस्ता कुरा “, बुढोले भन्नु भयो !
म पनि उठेर सदाझै दैनिकी गर्दै थिएँ । स्नान गरेर बाहिर आउँदा बुहारी साडीमा सजिएकी थिई । विवाहको केही दिन साडी लगाएकी थिई । त्यसपछि कहिल्यै लगाइने । यसरी साडीमा सजिएकी बुहारी आज कति राम्री देखिएकी । मनमनै खुसी पनि लाग्यो । साउनको सोमवार , आज बुहारीको व्रत रहेछ क्यारे । मैले सोचेँ , मेरो बुहारीसँग मन्दिर जाने रहर आज पूरा भयो । मैले पनि छिटोछिटो साडी लगाएर सासू बुहारीलाई पूजा सामग्री तयार पारेँ । जाउंँ हिंड भनेर बोलाउन ढोका नजिकै गएकी थिएँ ।
बुहारीले त छोरालाई ठूलो ठूलो स्वरले भन्दै थिइन ,” छिटो उठ्नु । कति नउठेको । झनै आज छिटो छिटो उठेर काम सकेँ । बुढाबूढी मन्दिर गएर टन्नै पूजा गरेकाे , व्रत बसेको टिकटक बनाएर साथीहरुले भन्दा छिटो पोष्ट गरुँला भनेको , झनै ढिलो भयो । “बल्ल थाहा भयो , सासूलाई बुहारीको व्रत !